काठमाडौं। छठ पर्वको मुख्य दिन सोमबार आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ। श्रद्धालुहरुले नदी किनार, तालतलैया तथा पोखरीमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन्।
अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि बर्तालु भक्तजन आफ्ना पूजा सामग्रीसहित छठघाटमा रातभर जाग्राम बस्ने चलन छ। काठमाडौंको कमलपोखरी र गौरीघाटमा पनि छठ मनाइएको छ।

खासगरी तराईका जिल्लाका नदी किनार र पोखरीमा ठूलो घुइँचो छ। जनकपुरको रामसागर, गंगासागर, वीरगंजको घडीअर्वा लगायत पोखरीलाई सजाएर बर्तालुहरु पूजा आराधनामा सहभागी भएका छन्।
बर्तालुहरु छठीमाताको पूजा आराधनाका लागि ठेकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान, विभिन्न फलफूल, नरिवल, ढाकन, माटोको हात्ती लगायत सामग्रीसहित नदि किनार र पोखरीमा बनाइएको छठघाट पुगेका थिए।

छठमा सूर्यको पूजा गर्नाले पारिवारिक सुख, शान्ति, समृद्धि प्राप्त हुने, रोगबाट मुक्ति मिल्ने तथा विभिन्न मनोकांक्षा पूरा हुने विश्वास छ।
काठमाडौंको कमलपोखरी, गौरीघाट लगायत स्थानमा पनि बर्तालुको बाक्लो उपस्थिति छ। राष्ट्रपति रामचन्द्र पौडेलले गौरीघाट र प्रधानमन्त्री सुशीला कार्कीले कमलपोखरी पुगेर छठीमाइको पूजा आराधना गरेका छन्।

मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुन्छ। छठ पर्वका अवसरमा सोमबार सरकारले सार्वजनिक बिदा दिएको थियो।

















