कुलमानले निर्माणाधीन संसद् भवनको गरे निरीक्षण, समयमै काम सक्न निर्देशन



बिजमाण्डू
२०८२ कात्तिक ८ गते १७:३७ | Oct 25, 2025
कुलमानले निर्माणाधीन संसद् भवनको गरे निरीक्षण, समयमै काम सक्न निर्देशन

काठमाडौं। ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद् भवनको स्थलगत अनुगमन गरेका छन्।

Tata
GBIME
Nepal Life

मन्त्री घिसिङ, सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जन लगायत सम्मिलित टोलीले निर्माणस्थलको अनुमगन गर्नुकासाथै निर्माण सम्पन्न हुन समय तालिकाका विषयमा छलफल गरेको थियो।

संसद् भवन ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६ असोजमा ठेक्का सम्झौता भएको थियो। पाँचौपल्ट थपिएको ठेक्का सम्झौताको म्याद आगामी १६ पुसमा सकिँदैछ।

आयोजनाको सिभिल लगायतका संरचना निर्माणको प्रगति करिब ८७ प्रतिशत छ। इन्टेरियर, सुरक्षा प्रणाली लगायतका काम गर्न २०८० मा अर्को ठेक्का सम्झौता भएको थियो। यस प्याकेजको निर्माण प्रगति ३० प्रतिशत रहेको छ।

मन्त्री घिसिङले दुवै निर्माण व्यवसायीलाई निर्माणस्थलमै सम्पन्न हुने तालिकाका विषयमा प्रतिबद्धता माग गरेका थिए। उनले नेपालमा निर्माण भइरहेको भवनहरूमध्ये सबैभन्दा ठूलो र महत्त्वको परियोजना रहेकाले १६ पुसभित्र सम्पन्न सुनिश्चित हुने गरी हरेक दिनको कार्यतालिका बनाएर काम गर्न आग्रह गरे।

धेरै मेहनत नगरिएमा तोकिएको समयमा निर्माण सम्पन्न हुन गाह्रो रहेकाले हरेक दिनको बेलुका निर्माण कार्य प्रगतिको समीक्षा गरी सोहीअनुसार आवश्यक स्रोतसाधन परिचालन गर्न निर्देशन दिंदै उनले निर्माण कार्यको आफैंले समेत नियमित अनुमगन गर्ने बताए।

‘जेन-जेड आन्दोलनका क्रममा पुरानो संसद् भएन क्षतिग्रस्त भएको छ, राष्ट्रिय सभाको बैठक चलाउनु पर्नेछ, आगामी २१ फागुनको चुनावपछि प्रतिनिधि सभा पनि चलाउनु पर्ने हुन्छ, संसद् भवनको निर्माण छिटोभन्दा छिटो सम्पन्न गरिएन भने धेरै असर पर्ने देखिएको छ, आजको निर्माण गति हेर्दा तोकिएको समयमा सम्पन्न गर्न गाह्रो देखिएको छ, दुवै निर्माण व्यवसायी एक आपसमा समन्वय गरेर काम गर्नुहोस्,’ मन्त्री घिसिङले भने।

उनले संसद् भवन निर्माण राष्ट्रिय महत्त्वको परियोजना भएकाले यसको प्रगति बारे नियमित रुपमा खवरदारी गर्न सञ्चारमाध्यमसहित आम नागरिकलाई आग्रह गरे।

सचिव सिग्देलले तोकिएको समयमा निर्माण सम्पन्न गर्न मन्त्रालयकातर्फबाट आवश्यक सहयोग, समन्वय सहजीकरण र अनुगमन गरिने बताए।

निर्माण व्यवसायीका प्रतिनिधिबाट तोकिएकै समयका काम सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको बताइएको थियो। उनीहरूले तालिकाभन्दा केही पछाडि भएता पनि अहिले देखिएको ढिलाइलाई पूर्ति गरी काम गर्ने प्रतिबद्धता जनाए।

राष्ट्रिय र प्रतिनिधि सभा हलमा फल्स सिलिङका लागि थप ट्रस तथा दुवै भवनको पहिलो तलामा रहेको मल्टिपरपोज हलमा फल्स सिलिङ लागि थप ट्रसको निर्माण, इलेक्ट्रिकलअन्तर्गत मेन एलटी प्यानल, सब एलटी प्यानल, मेन, सम्पूर्ण स्यानेटरी, इलेक्ट्रिकल फायर फाइटिङ, एचभीएसी परीक्षण तथा संचालन लगायतका काम बाँकी छन्।