धनतेरसमा बिक्यो १.३० अर्बभन्दा बढीको सुन, व्यवसायीले चाँदीको माग धान्नै सकेनन्



सरला सुवेदी
२०८२ कात्तिक २ गते १३:५७ | Oct 19, 2025
धनतेरसमा बिक्यो १.३० अर्बभन्दा बढीको सुन, व्यवसायीले चाँदीको माग धान्नै सकेनन्

काठमाडौं। धनतेरसको दिन शनिबार एक अर्ब ३० करोड रुपैयाँभन्दा बढीको सुन कारोबार भएको छ। ग्राहकको उच्च मागका कारण धनतेरसका दिन सुनको उच्च कारोबार भएको हो।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकले सुनको कोटा दैनिक २५ किलो तोकेकामा शनिबार ६० किलोभन्दा बढी सुन बिक्री भएको व्यवसायीहरुले बताएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले ग्राहकहरुको उच्च मागका कारण शनिबार ६० देखि ७० किलो सुन बिक्री भएको बताए।

‘देशभरबाट यकिन विवरण आएको त छैन। तर महासंघका आवद्ध व्यवसायीले गरेको रिपोर्ट अनुसार धनतेरसमा ६० देखि ७० किलो सुन बिक्री भएको देखिन्छ,’ रसाइलीले भने।

धनतेरसका दिन सुन र चाँदीको माग धेरै हुने गर्छ।

व्यवसायीका अनुसार विगतका वर्षमा धनतेरसमा ५० किलो हाराहारी सुन बिक्री हुने गरेकामा यसपालि त्यो भन्दा धेरै कारोबार भएको हो। अन्तर्राष्ट्रिय बजारमा भाउ निरन्तर उकालो लागेर बिक्री घटिरहेका बेला धनतेरसका दिन भएको कारोबारका कारण व्यवसायीहरु प्रफुल्लित भएका छन्।

‘अघिल्ला वर्ष सुनको भाउ कम हुँदा पनि धनतेरसको दिन ४० देखि ५० केजी सुनको बिक्री हुन्थो। यो वर्ष भाउ महँगो हुँदा पनि कारोबार सोचेभन्दा राम्रो भयो,’ रसाइलीले भने, ‘हामी व्यवसायी कारोबार सोचेभन्दा राम्रो भएपछि खुशी नहुने कुरै भएन।’

शनिबार सुनको भाउ प्रति तोला २ लाख ५८ हजार रुपैयाँ थियो। महासंघका अध्यक्ष रसाइलीको भनाइलाई आधार मान्दा ६० किलो सुनको बिक्री मूल्य १ अर्ब ३२ करोड ७६ लाख रुपैयाँ हुन्छ। यो काँचो सुनको मूल्य हो। व्यवसायीले १० प्रतिशतसम्म जर्ती जोड्ने र ज्याला अलग्गै लिने भएकाले सुनको कारोबार करिब डेढ अर्ब रुपैयाँ बराबर भएको अनुमान गर्न सकिन्छ।

‘सुनको मूल्य नबढेको भए माग अझै उच्च हुने रहेछ,’ रसाइलीले भने।

सामान्य अवस्थामा दैनिक ३०० देखि ४०० केजी चाँदी बिक्री हुने गरेकामा धनतेरसका दिन शनिबार १ हजार ५०० केजीसम्म बिक्री भएको महासंघको अनुमान छ। बजारमा चाँदीको अभावका कारण ग्राहकले माग अनुसार किन्न नपाएको व्यवसायीहरुको भनाइ छ।

महासंघका वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्यले पनि धनतेरसमा सुनचाँदीको उत्साहजनक कारोबार भएको बताए।

‘ग्राहकबाट चाँदीका भााडाकुँडाको पनि उच्च माग थियो। तर हामीले नै चाँदी नपाएका कारण धेरै सामान बनाउन सकेका थिएनौं,’ शाक्यले भने, ‘सुन र चाँदी दुवैको भाउ उच्च भएको अवस्थामा पनि यसपालि उच्च कारोबार भएको छ। चाँदीको अभाव नभएको भए कारोबार अझै बढी हुन्थ्यो। ग्राहकलाई हामीले नै माग अनुसार चाँदीका सामान दिन सकेनौं।’

दसैं सकिए लगत्तैदेखि बजारमा चाँदीको अभाव थियो। व्यवसायीहरुले चाँदी निर्धारित मूल्यभन्दा धेरै अर्थात ब्ल्याकमा बेच्दै आएका थिए।