दिगो विकासको लक्ष्य प्राप्तिका लागि वृत्ताकार अर्थतन्त्र, यी चक्रहरुले खेल्न सक्छ महत्व



अर्पण पौडेल
२०८२ असोज ३१ गते ०६:०४ | Oct 17, 2025
दिगो विकासको लक्ष्य प्राप्तिका लागि वृत्ताकार अर्थतन्त्र, यी चक्रहरुले खेल्न सक्छ महत्व


हरेक वर्ष विश्वभर दुई अर्ब टनभन्दा बढि फोहर उत्पादन हुने गर्दछ्। यदि यो फोहोरलाई कन्टेनरहरुमा राखेर एक पछि अर्को लामबद्ध गरि राख्ने हो भने पृथ्वीको भूमध्यरेखा वरिपरी करिब २५ पटक फन्को लगाउन पुग्छ वा पृथ्वीबाट चन्द्रमा सम्म गई फर्किनु भन्दा पनि टाढाको यात्रा तय हुन सक्ने तथ्य संयुक्त राष्ट्रसंघले आफ्नो वैश्विक फोहोर व्यवस्थापन परिदृश्य २०२४ मा उल्लेख गरेको छ।

Tata
GBIME
Nepal Life

यो फोहोरको डंगुरलाई उपभोक्ताहरुका बजारबाट खरिद गर्ने ९३ प्रतिशत सामानहरु केबल ६ महिना भित्रै अवशेषको रुपमा फाँक्ने प्रवृत्तिहरुले अनवरतरुपमा बढाईनै रहेको छ।

थुप्रिँदै गईरहेको फोहोरबाट क्रमिकरुपमा जलवायु परिवर्तन, प्राकृतिक स्रोतको क्षय तथा प्रदुषणको प्रतिकुलता वर्षेनी विकराल बन्दै गईरहेको सहजै अनुमान लगाउन सकिन्छ। आखिर यस्ता विकृतीहरुको बढ्नका लागि को छ त जिम्मेवार? भनेर खोज्दै जाने हो भने कच्चा समाग्रि लिने, बनाउने अनि फोहोरकारुपमा फ्याँक्ने पद्धतिमा आधारित विश्वको परम्परागत अर्थ व्यवस्थालाई प्रमुख कारकका रुपमा देख्न सकिन्छ जसबाट अनेकन प्रकारका दुरगामी प्रतिकुलताहरु सिर्जना भइरहेका छन्।

फेसन र कपडा उत्पादन क्षेत्रमा व्याप्त परम्परागत व्यावसायिक मोेडेलले अत्याधिक उत्पादन र उपभोगलाई प्रोत्साहन गर्दा विश्वव्यापी फोहोर र प्रदुषणको संकट झनै अराजक बन्दै गइरहेको छ। विशेषतः प्राकृतिक स्रोतहरुको ह्रास, फोहोरको वृद्धि, जलवायु परिर्वतनका विसंगतीहरु, संकट उन्मुख जैविक विविधता, कच्चा पर्दाथको मुल्य अस्थिरता तथा अभाव, श्रमशोषण, उपभोक्तावाद केन्द्रित उत्पादन, स्वास्थ्य समस्या, सामाजिक असमानताको बढ्दो प्रतिकुलता आदि जस्ता अनेकन महत्वपुर्ण सवालहरुमा परम्परागत अर्थतन्त्रका सिद्धान्तमा आधारित नियमन, उत्पादन तथा उपभोगका गतिविधीहरुले संसारलाई क्रमिकरुपमा बिनासको खाडलमा धकेलिरहेका छन्।

विश्व बैंकबाट प्रकाशित सन् २०५० सम्मको ठोस फोहोर व्यवस्थापनको विश्वव्यापी झलकलाई नियाल्ने हो भने वैश्विकस्तरमा उत्पादन हुने कुल फोहोरमा निम्नानुशारका गतिविधीहरुले प्रमुख भूमिका खेलि रहेको मिश्रण देखिन्छ।

वर्तमान समयमा व्याप्त परम्परागत अर्थतन्त्रका सिद्धान्तहरुमा आधारित प्रतिकुलताहरुलाई व्यवस्थापन समयमै प्रभावकारी तरिकाले गर्न नसक्ने हो भने आगामी पुस्तालाई हस्तान्तरण गर्नका लागि विश्वको पर्यावरण तथा जैविकता बाँँकी नरहन सक्छ। त्यसैले अब प्रतिकुलता व्यवस्थापनका लागि अब वृत्ताकार (सर्कुलर) अर्थतन्त्रका सिद्धान्तहरुको प्रवर्धन एकमात्रै वैकल्पिक रणनीति हुन सक्छ।

विशेष गरि फोहोरकारुपमा फ्याँक्ने परिपाटीलाई मर्मत, पुनः प्रयोग, पुर्नः निर्माण तथा पुर्नचक्रण गरि उत्पादनहरुको उपयोगको अवधि सके सम्म लम्बाउने तथा उपलब्ध स्रोतहरुको कुशलतापुर्वक प्रयोग गरी उत्पन्न हुने फोहोरलाई हटाई तथा घटाई प्राकृतिक संसाधनहरुको दिर्घकालिन संरक्षण गर्दै वातावरण अनि जैविकताको सुरक्षालाई प्रवर्धन गर्नुपर्ने मुख्य विशेषता भएकै कारणले वृत्ताकार अर्थतन्त्रका सिद्धान्तहरुको अविलम्ब कार्यान्वयन विकल्प रहित विकल्प नै हो।

वृत्ताकार अर्थव्यवस्थामा नयाँवस्तुहरु उत्पादन गर्दा पुराना तथा उपभोग पश्चात बाँकी रहेका अवशेषहरुलाई पुनः प्रयोग गर्ने गरिन्छ भने उत्पादनबाट उत्पन्न अवशेषहरुसमेत नयाँ उत्पादनकारुपमा रुपान्तरित हुन्छन्। उत्पादनका योजनाको तहमानै उपभोगको अन्तिम चरणमा उत्पन्न हुने अवशेषहरुलाई कसरी लामो समय सम्म उपभोग योग्य बनाउन सकिन्छ भन्ने कुराको समेत निर्धारण हुने भएकोले फोहोर तथा प्रदुषण कम गर्न अनेकन प्राविधिक उपायहरु अग्रिमरुपमा नै तय हुने भएकोले पनि वृत्ताकार अर्थतन्त्रको महत्व अधिक ।

वृत्ताकार अर्थव्यवस्थामा अनेकन अन्तर्निहित क्रियाकलापहरुको क्रिया तथा अन्तर्क्रिया भइ अपेक्षित परिणाम प्राप्त गर्नका लागि अनेकन चक्रहरु निर्माण गर्न सकिन्छ जसमध्ये महत्वपुर्ण भूमिका खेल्ने केहि चक्रहरु यसप्रकार हुन सक्छन्।

उत्पादन चक्र : उत्पादनसँग सम्बन्धित कच्चा पर्दाथको प्राप्ति, प्रशोधन, भण्डारण, वितरण, प्रयोग तथा पुनः प्रयोग जस्ता हरेक क्रियाकलापहरुलाई वृत्ताकार प्रणालीमा आवद्ध गर्ने गरिन्छ। जस्तै एउटा विद्युतिय उपकरणको निर्माण वा उत्पादनमा प्रयोग भएका सामाग्रिहरुलाई पुनः प्रयोग गरेर अर्को उपकरण बनाउदा बिद्यमान समयमा देखिएको उपभोग पश्चात फ्याँकिएका विद्युतिय उपकरणका फोहोरहरु कम गर्न सकिन्छ।

पुनः प्रयोग चक्रः जब कुनै उत्पादनले लक्षित उपभोगको अन्तिम अवस्था पार गर्दछ त्यसलाई पुनः प्रशोधन गरि त्यसमा रहेका तत्वहरुलाई अर्को नयाँ उत्पादनमा रुपान्तरण गरि उपयोगिता सिर्जना गर्ने गरिन्छ जसले उत्पादनको मर्मत तथा पुनः प्रशोधनले प्रकृतिक संसाधनको दोहनलाई समेत घटाउन टेवा पुग्छ।

सेवा तथा भाडा चक्र : सेवा अनि भाडामा लिएर उपयोगिताहरुको उपभोग गर्ने अवधारणले उत्पादनको स्वामित्वको होडबाजी कम भई अनावश्यक उत्पादनमा कटौती आई प्राकृतिक स्रोत तथा साधनको अनावश्यक दोहन कम हुन जान्छ। सवारी साधन लिजिङ तथा सेयरिङ, विद्युतिय उपकरणहरुको भाडा तथा मरर्मत सेवा आदिले वृत्ताकार अर्थव्यवस्थाको समग्र चक्रहरुमा सकरात्मक प्रभाव सिर्जना गर्दछ।

आयातमा निर्भरता कम गरि कच्चा पदार्थको आपुर्तिमा स्थायित्व ल्याउदै उपलब्ध प्राकृतिक संसाधनहरुको सुरक्षा गर्न, नयाँ ब्यावसाय रोजगारी तथा नवप्रवर्तनको माध्यमबाट आर्थिक वृद्धि गरी आर्थिक लाभ लिन अनि कार्बन उत्सर्जन र फोहोरको मात्रा घटाएर जलवायु परिर्वतनले निम्ताएको प्रतिकुलता व्यवस्थापन गर्नकै लागि भएपनि बृत्ताकार अर्थतन्त्रका सिद्धान्तहरुको कार्यान्वयन अत्यावश्यक देखिन्छ।

पर्यावरण तथा जैविकताको संरक्षणमा अत्यन्तै प्रभावकारी देखिएको वृत्ताकार अर्थव्यवस्था पक्कै पनि सतह निर्माण विकास तथा लागु हुन सक्दैन जसका लागि विभिन्न तह र तप्कामा ठोस तथा प्रतिबद्ध नीति निर्माण हुनु तथा कार्यान्वयन हुनु अत्यावश्यक छ। जसका लागि व्यवस्थापन देखि कार्यान्वयन तहमा निर्वाह गरिनुपर्ने केहि सांकेतिक भूमिकाहरु यस्ता हुन सक्छन्।

नियामक निकायहरु : वृत्ताकार अर्थतन्त्रलाई प्रवर्धन गर्ने क्रियाकलापहरुमैत्री नीति, कानुन तथा निर्देशिकाहरु बनाई लागू गर्ने। पुनः प्रयोग, रिसाइकल अनि पर्यावरण मैत्री उत्पादनहरुलाई प्रोत्साहित गर्ने गरि कर छुट, अनुदान वा अन्य सहुलियतहरु प्रदान गर्ने। उद्योग, सेवा प्रदायक तथा उपभोक्ताहरुले वृत्ताकार अर्थतन्त्रमा केन्द्रित नीति नियमहरुको अनुपालन गरे नगरेको अनुगमन गर्ने। सरोकारवालाहरुमा वृत्ताकार अर्थतन्त्रको बारेमा जनचेतना अभिवृद्धि गर्ने।

उत्पादक तथा सेवा प्रदायकहरु : वातावरणमैत्री तथा पुनः प्रयोग गर्न मिल्ने सामाग्रीको प्रयोग गर्दै दीर्घकालीन उत्पादन प्रविधि विकास गर्ने। पुराना वस्तुहरु मर्मत तथा पुनः प्रयोग गर्ने तथा रिसाइकल गर्न मिल्ने ढाचामा डिजाइन गर्ने। शून्य अवशेष वा फोहोर नीतिलाई प्राथिमकता दिने गरि सामाग्रिहरुको आपूर्ति श्रृंखलाहरु विकास गरि कार्यान्वयन गर्ने।

उपभोक्ताहरु : उपभोक्ताहरुको रोजाई तथा प्राथामिकताहरुले बजार तथा उत्पादनलाई निकै ठूलो प्रभाव सिर्जना गर्दछ। आवश्यक वस्तु मात्रै प्रयोग गर्ने, फोहोर कम गर्ने तथा पुनः प्रयोग तथा रिसाइकल गर्न मिल्ने प्रक्रियालाई प्रोत्साहन गर्ने उत्पादनहरुको उपभोगमा केन्द्रित हुने। वातावरणमैत्री तथा वृत्ताकार अर्थतन्त्रलाई टेवा पुग्ने वस्तुहरुलाई आफ्नो उपभोगको प्राथामिकतामा राख्ने । पुराना वस्तुहरु मर्मत गरेर फेरी प्रयोग गर्ने बानिको विकास गदै वातावरणमा प्रतिकुलता थपिने गरि फाल्ने वा नष्ट गर्ने मनोवृत्तिहरु बदल्ने। घर तथा टोलछिमेकमा वृत्ताकार अर्थव्यवस्थालाई प्रवर्धन गर्ने क्रियाकलापहरु बढाउन चेतना फैलाउने तथा प्रोत्साहित गर्ने।

प्रतिदिन प्रति व्यक्ति करिब ०.७९ किलोग्राम फोहोर उत्पादन हुने गरेको चेतावनी मुलक तथ्यले समेत वृत्ताकार अर्थतन्त्रको निर्माणको चटारोलाई स्पष्ट पारेको देखिन्छ। वृत्ताकार अर्थतन्त्रको निर्माण केबल एउटा वातावरणीय नीति मात्रै होइन, यो २१ औं शताब्दीको दिगो र प्रगतिशिल आर्थिक विकासको लागि एक अनिवार्य मोडेल हो।

विश्वव्यापी तत्थ्यांकले यो परिवर्तनको गति अझै सुस्त रहेको देखाए पनि नीति निर्माता, सेवा प्रदायक अनि उपभोक्ताहरुको संयुक्त प्रयासबाट मात्रै यो चुनौतिलाई सहजै अवसरमा बदल्न सकिन्छ। वर्तमान समयमा कुल उत्पादनको केबल ७ प्रतिशत मात्रै वृत्ताकार अर्थतन्त्रको सिद्धान्त अनुरुप पुनः प्रयोग भइरहेकोमा अबका दिनहरुमा यस्ता प्रवृत्तिहरुमा उल्लेख्यरुपमा वृद्धि ल्याउन सक्ने भने बढ्दो फोहोर तथा फैलिदा प्रतिकुलता व्यवस्थापनमा प्रभाकारिता आउने पक्का छ।

नेपालले पनि आफ्नो सिमित स्रोत र बढ्दो फोहोरको समस्यालाई ध्यानमा राख्दै दिगो विकास लक्ष्यहरु प्राप्त गर्न र नेपाली अर्थतन्त्रलाई लचिलो तथा आत्मनिर्भर बनाउनहरेक तहका निती तथा आयोजनाहरुमा वृत्ताकार अर्थतन्त्रका सिद्धान्तहरुलाई अनिवार्यताका साथ लागू गर्दै शुन्य सहनशिलता सहितको कार्यान्वयनमा जोड दिनु अत्यन्तै जरुरी देखिन्छ।

उल्लेखित विचार लेखकका निजी भएकाले आवद्ध संस्थाको प्रतिनिधित्व गदैनन्।