टक्सारमा यसपटक छैन सुनको असर्फी, तिहारका लागि पाइन्छ १२ हजार ८०० को चाँदीका सिक्का

बिजमाण्डू
२०८२ असोज २८ गते १२:०८ | Oct 14, 2025
टक्सारमा यसपटक छैन सुनको असर्फी, तिहारका लागि पाइन्छ १२ हजार ८०० को चाँदीका सिक्का


काठमाडौं । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा चाँदीका सिक्का लिनेको भिड बढ्न थालेको छ। तिहारका लागि चाँदीका सिक्का किन्नेको लाइन लागेको हो।

Vigo
GBIME
Tata

यसवर्ष राष्ट्र बैंकले सुनको असर्फी भने बिक्री गरेको छैन। अघिल्ला वर्षहरुमा महाशाखाले तिहार लक्षित गर्दै सुनको असर्फी र चाँदीका सिक्का वितरण गर्ने गरेको थियो।

यो वर्ष महाशाखाले चाँदीका सिक्का मात्रै बिक्रीमा ल्याएका राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डितले बताए। यो वर्ष तिहार लक्षित नभइ ‘रेगुलर’ जस्तै चाँदीका सिक्का बिक्री गरिरहेको उनको भनाइ छ।

‘हामीसँग यो वर्ष सुनको स्टक नै नहुँदा असर्फी बिक्रीमा राखेका छैनौं। विगतका वर्षहरुमा तिहार लक्षित गर्दै सुन र चाँदीका सिक्का वितरण गर्ने गरेकामा यो वर्ष त्यस्तो छैन,’ उनले भने, ‘यो वर्ष तिहार लक्षित नभएर रेगुलर चाँदीको सिक्का बिक्री गरिरहेका छौं।’

लक्ष्मीपूजामा नयाँ सिक्का र असर्फीको पूजा गर्ने परम्परा छ।

यो वर्ष महाशाखाले चाँदीको सिक्का किन्नका लागि कोटा निर्धारण गरेको छ। यसपटक एकजनाले १२ हजार ८०० मूल्यको चाँदीको सिक्का मात्र खरिद गर्न पाउनेछन्।

एकजनाले चाँदीबाट बनेका ४ किसिमका सिक्का लिन पाउँछन्। टक्सार महाशाखाले गणेश, लक्ष्मी, गजलक्ष्मी र गाईको फोटो अंकित सिक्का तयार गरेको हो।

अरु बेला सिक्का उत्पादन गर्न छाडे पनि महाशाखाले दसैं र तिहारको अवसर पारेर चाँदीको सिक्का बनाउने गरेको छ।