काठमाडौं। अमेरिकामा विशेषज्ञता हासिल गरी नेपाल फर्किएका डा. अनुप सुवेदी र डा. किरण राज पाण्डेले नेपालको स्वास्थ्य सेवा प्रणालीमा सुधार ल्याउने भिजनसहित मेधर्म प्रोजेक्ट सुरु गरेका छन्।
सन् २०१८ मा विदेशबाट फर्किएका केही डाक्टरहरूको समूहले नेपालको स्वास्थ्य प्रणालीमा रहेका कमजोरीहरूलाई सुधार गर्ने उद्देश्यले यो क्लिनिकको अवधारणा अगाडि सारेको हो।
नाफा कमाउनु मात्र नभई बिरामीलाई गुणस्तरीय र विश्वासिलो सेवा प्रदान गर्नु उनीहरूको मुख्य उद्देश्य हो। कोभिड-१९ महामारीको समयमा सहकार्य गर्दै यो टिमले बिरामी र डाक्टरबीचको सम्बन्धलाई बलियो बनाउने साझा लक्ष्य बनायो।
सन् २०२२ देखि औपचारिक रुपमा सञ्चालनमा आएको ‘मेधर्म क्लिनिक’ले छोटो समयमै आफ्नो छुट्टै पहिचान बनाइसकेको छ।

प्राइमरी केयरमा विशेष ध्यान
इन्टरनल मेडिसिन, ट्राभेल मेडिसिन र इन्फेक्सन डिजिजका विशेषज्ञ हुन् डा. सुवेदी। डा. पाण्डे इन्टरनल एन्ड हस्पिटल मेडिसिनमा विशेषज्ञ छन्। उनीहरूलाई न्यूरोलोजी एन्ड न्यूरोफिजियोलोजी विशेषज्ञ डा. इशान अधिकारीले साथ दिएका छन्।
डा. सुवेदी भन्छन्, ‘इशान सर आएपछि हामीले मेधर्म प्रोजेक्टलाई अगाडि बढाउन हिम्मत पायौं।’
उनीहरूले प्राइमरी केयरका साथै बिरामीका लागि ‘फेमिली डाक्टर’ बन्ने लक्ष्य राखेका छन्। डा. सुवेदीका अनुसार यसको मुख्य अवधारणा भनेको डाक्टरहरूले बिरामीलाई धेरैभन्दा धेरै समय दिएर उपचारसहित परामर्शदाताको पनि काम गरोस् भन्ने हो।

‘यसरी प्राइमरी केयर गर्दा बिरामीको समस्या समाधान गर्न सजिलो हुन्छ,’ उनी थप्छन्।
नेपालमा बिरामीहरूले एउटै डाक्टरमा विश्वास गर्न नसक्दा बारम्बार डाक्टर र अस्पताल फेर्ने चलन छ, जसले उपचारलाई खर्चिलो र झन्झटिलो बनाएको छ। यही समस्याको समाधानका लागि मेधर्मले प्राइमरी केयर मोडल अपनाएको डा. पाण्डे बताउँछन्।
‘उदाहरणका लागि, टाउको दुख्ने समस्या लिएर आउने बिरामीलाई सीधै सिटी स्क्यान गर्न लगाउनुको सट्टा उसको निद्रा, तनाव र पानी पिउने बानीबारे सोधपुछ गरिन्छ, किनकि धेरैजसो अवस्थामा यिनै कारणले टाउको दुख्ने गर्छ,’ डा. पाण्डे भन्छन्।

डा. सुवेदीका अनुसार नेपालको स्वास्थ्य सेवामा डाक्टरसँग समय नहुनु, अनावश्यक परीक्षणको बोझ र डाक्टर-बिरामीबीच विश्वासको कमी जस्ता गम्भीर प्रणालीगत समस्याहरू छन्। मेधर्मले यही खाडल पुर्ने प्रयास गरिरहेको छ।
दरबारमार्गमा ‘किङ्सवे मेडि हब’
मेधर्म क्लिनिक पहिले ४ वर्षदेखि झम्सिखेलमा सञ्चालित थियो र केही महिनाअघि मात्रै दरबारमार्गमा सिफ्ट गरिएको हो। अहिले दरबारमार्गमा रहेको उक्त भवनलाई डाक्टरहरूको यो टिमले ‘किङ्सवे मेडि हब’ बनाउने तर्खरमा जुटेका छन्।
‘किङ्सवे मेडि हब बनाउने हाम्रो उद्देश्य हो, जहाँ आउट प्यासेन्टहरूका लागि एउटै ठाउँमा सबै खालका विशेषज्ञ डाक्टरहरूले ट्रिटमेन्ट गर्छन्,’ डा. सुवेदी भन्छन्।


मेधर्म क्लिनिकसँग मात्रै २० जना डाक्टरहरूको टिम छ। डा. पाण्डेका अनुसार उनीहरूसँग जोडिने डाक्टरहरू प्रायः अमेरिका वा बेलायतमा पढेर तालिम लिएर फर्किएकाहरू मात्र छन्।
‘हामीले सेल्फ सेलेक्सनको प्रक्रियाबाट मात्रै स्वीकृति दिन्छौं। यसले सेवा र ‘गुड कियर’ दिने कुरामा बढि ध्यान केन्द्रित हुन्छ,’ उनी भन्छन्।
एकै छानामुनि धेरै विशेषज्ञ सेवाहरू
दरबारमार्गको यो भवनमा मेधर्म क्लिनिक बाहेक अन्य विशेषज्ञ सेवाहरू पनि उपलब्ध छन्। आँखा उपचारका लागि ‘सुदृष्टि आई केयर’, दाँतको लागि ‘हेल्थी स्माइल्स डेन्टल क्लिनिक’ र छाला तथा सौन्दर्यका लागि ‘कायाकल्प कस्मेटिक एन्ड डर्माटोलोजी’ जस्ता विशेषज्ञ सेवाहरू छन्।

यसका साथै, अत्याधुनिक सिटी स्क्यान, एमआरआई, एक्स-रे, अल्ट्रासाउन्ड सहितको रेडियोलोजी विभाग पनि यहीँ छ, जसलाई नेपालका प्रतिष्ठित रेडियोलोजिस्ट डा. रामकुमार घिमिरेको टिमले नेतृत्व गरेको छ। मुटुरोग, न्यूरोलोजी, फोक्सोसम्बन्धी रोग, हाडजोर्नी, स्त्रीरोग, नाक, कान, घाँटी, मानसिक स्वास्थ्य र बालरोग विशेषज्ञहरू पनि एउटै भवनमा उपलब्ध हुँदा बिरामीहरूलाई अनावश्यक दौडधुप गर्नुपर्दैन।
सुवेदीका अनुसार अहिले स्वास्थ्य क्षेत्र नै ‘बिजनेस सर्भिस ओरिएन्टेड’ भइसकेको छ। यसलाई परिवर्तन गर्नुपर्ने बेला भइसकेको उनी बताउँछन्।
‘नेपालमा प्राइमरी केयरलाई केन्द्रमा राखेर अनि त्यहाँबाट आवश्यकता अनुसार विभिन्न सव-स्पेशल्टी सेवा लिने मोडेल त्यति विकास भएको छैन। अनि आउटपेशेन्ट केयर अझै पनि अधिकांशतः अस्पतालबाटै लिने दिने प्रचलन छ। यस्तो मोडेल आफैं धेरैजसो ठाउँमा बिरामीको खर्च बढाउन सहयोगी हुन्छ। मेधर्मले तिनै कुरालाई सम्बोधन गर्न खोजेको छ,’ सुवेदी भन्छन्।
खर्च कटौतीका लागि महँगो परीक्षण मेसिनहरूमा लगानी गर्नुको सट्टा उनीहरूले भवनमा रहेका अन्य सेवा प्रदायकहरूसँग सहकार्य गरिरहेका छन्।

डा. सुवेदी भन्छन्, ‘हाम्रो सोच सुरुमै धेरै नाफा कमाउने होइन। हामीलाई थाहा छ, यो हामीले सुरु गरेको मोडल स्थापित हुन समय लाग्छ।’
डा. किरण थप्छन्, ‘सिम्प्ली रुपमा डाक्टरले बिरामीको वास्ता गर्नु नै सबैभन्दा ठुलो कुरा हो। बिरामीको समस्यालाई बुझ्न २ मिनेट दिनु र ३० मिनेट दिनुमा धेरै फरक हुन्छ।’
यही सोचले उनीहरूलाई अहिले धेरै ठूलो ग्रुपमा स्थापित गर्दैछ र नेपालको स्वास्थ्य सेवा क्षेत्रमा नयाँ आयाम थप्ने प्रयास गरिरहेको छ।











