काठमाडौं । जेनजीको आन्दोलनपछि काठमाडौं लगायत सहरमा निजी सेक्युरिटी गार्डहरूको माग बढेको छ। कर्पोरेट क्षेत्रदेखि समुदायसम्म गार्डहरुको माग बढेको हो।
नेपालमा विभिन्न सेक्युरिटी कम्पनीहरूले कर्पोरेट क्षेत्रदेखि विभिन्न व्यवसायमा सेक्युरिटी गार्ड दिँदै आएका छन्। जेनजीको आन्दोलनमा निजी क्षेत्र पनि ‘टार्गेट’मा परेपछि गार्डहरूको माग बढेको सेक्युरिटी कम्पनीहरूले जानकारी दिएका छन्।
नेपालमा सबैभन्दा धेरै निजी सेक्युरिटी गार्ड दिँदै आएको गरुड सेक्युरिटीका एचआर हेड लक्ष्मण खड्काले सोमबारदेखि सेक्युरिटी गार्डको माग बढेको बताउँछन्।
‘अहिले माग बढेको छ। भएका ठाउँमा नै हामीले १० जनासम्म थप गरिरहेका छौँ,’ खड्काले भने।
अहिले भएका ठाउँमा पनि थप ५ जना गार्डको माग भएको उनी बताउँछन्। देशभर कम्पनीबाट ५ हजार ५०० गार्डहरू कार्यरत छन्।
नेपालमा धेरैजसो बैंक तथा वित्तीय सस्थामा निजी गार्डहरु छन्। त्यस्तै, विभिन्न सुपर मार्केटहरूमा पनि गार्ड राखिएको छ। सोमबारको घटना पछि केही सुपर मार्केटले रातिको समयमा पनि भवन बाहिर पनि गार्डहरू राखेका छन्।
खुकुरी नेपाल सेक्युरिटीका निर्देशक गौरीशंकर चलाउने पनि सोमबारको घटनाले निजी क्षेत्र र समुदायमा सुरक्षा गार्डहरूको माग बताउँछन्। विभिन्न सहरमा २०० को संख्या गार्ड र सफाइ कर्मचारी खटाएको कम्पनीले अहिलेसम्म थप गार्ड भने पठाएको छैन।
‘हामीलाई अहिले अवस्था माग बढ्ने देखिएको छ। तर अहिलेसम्म हामीले गार्ड भने थपेका छैनौं,’ निर्देशक चलाउनेले भने।
जेनजीको आन्दोलनमा सबैभन्दा धेरै क्षति नेपाल प्रहरीलाई भएको छ। उनीहरूको भवनमा आगो लागेको छ, हतियार र पोसाक लुटिएका छन्। तीन जना प्रहरी पनि मारिएका छन्। हाल सामान्य अवस्थामा जस्तै प्रहरी फेरि कार्यालयदेखि सडकमा फर्किन सकेको छैन। जसले गर्दा टोल समाजमा चोरी बढेको छ। असुरक्षा बढ्दा टोल टोलमा समेत निजी गार्ड राख्ने विषयमा छलफल हुन थालेको छ।
गत चैतमा भाटभटेनी सुपरमार्केट लगायत केही व्यवसायिक घरानामा दुर्गा प्रसाईं समूहको आक्रमण भएको थियो। जसमा सर्वसाधारण नै लुटपातमा संलग्न भएका थिए। कोटेश्वरस्थित भाटभटेनीमा रहेका सुरक्षा गार्डले आउटलेटमा लुटपात गर्न आएकाहरुलाई भगाएका थिए। उनीहरुलाई भाटभटेनीले सम्मानित पनि गरेको थियो।
अहिलले पनि कतिपय क्षेत्रमा कार्यरत सेक्युरिटी गार्डहरुले अपरिचित व्यक्ति र समूहमाथि निगरानी र प्रवेशमा कडाई गरेका छन्। जेनजी प्रदर्शनका क्रममा बैंकदेखि हाउजिङसम्म पुगेका केही समूहलाई गार्डले प्रवेश गर्न दिएका थिएनन्।











