कठिन परिस्थितिमा अब सम्हालिनुको विकल्प छैन, लगानीकर्ताको ढलेको आत्मविश्वास पनि जगाउनुपर्ने छ



ऋषिकेश दाहाल
२०८२ भदौ २५ गते ०९:५९ | Sep 10, 2025
कठिन परिस्थितिमा अब सम्हालिनुको विकल्प छैन, लगानीकर्ताको ढलेको आत्मविश्वास पनि जगाउनुपर्ने छ


सिंहदरबार जलिरहँदा निस्किएको धुवाँको मुस्लोले काठमाडौं अन्धकार झैँ बन्यो। यतिखेर पनि धुवाँ पुत्पुताइरहेको छ देश भरी। आफ्नै सम्पत्तिमाथि आगजनी ! कसरी पत्याउनु ?

Tata
GBIME
Nepal Life

बिहान झिसमिसेमै एक जना साथीको अमेरिकाबाट फोन आयो। ‘देश जलिरहेको देखेर हरिबोल दाइले सुसाइड गरे ड्यालसमा,’ उनले भनिन्, ‘म त यति रोइरहेछु कि बा मर्दा पनि त्यति रोइनँ।’

म पढेकै स्कुल पढेका हरिबोल भण्डारी अमेरिकामा चर्चित नेपाली व्यवसायी थिए। उनले अमेरिकामा कमाएको धन नेपाल भित्र्याएर लगानी गरिरहेका थिए। भावुक प्रकृतिका उनी सिंहदरबार जलिरहेको भिडियो हेरिरहेर अडिन सकेनन्। भण्डारी कांग्रेस महासमिति सदस्य पनि थिए। तर, मैले देख्दा उनी विदेशमा कमाएर नेपालमा लगानी गरिरहेका एक उद्यमी थिए।

यी शब्द लेखिरहँदा चुच्चेपाटीमा रहेको भाटभटेनीको स्टोर ह्वारह्वार जलिरहेको छ। पटपट आवाज निस्किरहेको छ। भाटभटेनीसँगै आजदेखि त्यहाँ काम गरिरहेका कति जनाको रोजीरोटी खरानी बन्यो होला, कल्पना गर्न समेत आँट आइरहेको छैन। म किनमेल गर्न जाँदा ज्यादातर जेनजीलाई नै स्टोरभित्र काम गरिरहेको देख्थेँ। ती अब सडकमा पुगेका छन्। तिनको अवस्था नकल्पिँदै म डा. भगवान कोइरालालाई सम्झिरहेछु।

उनले सातै प्रदेशमा बाल अस्पताल बनाउने अभियान थाल्नासाथ भाटभटेनीका संचालक मीनबहादुर गुरुङले सबै ठाउँमा अस्पताल भवन बनाउने घोषणा गरेका थिए। भगवान कोइरालाको त्यो अभियान र स्रोतको सुनिश्चित गरिदिने मीनबहादुरको अनुहार सम्झिएँ। मलाई थाहा छ आगो लगाउनेहरूले मीनबहादुरले एमालेको पार्टी कार्यालय बनाइदिने घोषणाप्रति आवेग पोखेका हुन्। तर फेरि सम्झिएँ- मीनबहादुरले बनाएको त्रिवि शिक्षण अस्पतालभित्रको इमर्जेन्सी। त्यहीँ उपचार पाए, घाइते भएका धेरै जेनजीले। बालुवाटार जग्गा प्रकरणमा मीनबहादुर नमुछिएका होइनन्। उनले त्यहाँको जग्गा सस्तोमा किनेका थिए, जुन पछि सरकारले फिर्ता लियो।

सिंहदरबारबाट मुस्लो धुवाँ छुटिरहँदा बबरमहलमा रहेको सडक विभाग हुर्हुर दन्किँदै थियो। त्यो विरासत जलिरहँदा देशको सडक आयोजनाहरू बलिरहेको पाएँ। सँगै जले होलान् भ्रष्टाचार जोडिएका महत्त्वपूर्ण डकुमेन्ट। खैर, कसैका लागि त जल्नु पनि सुरक्षित हुनु बन्यो। अदालतमा पनि आगो लागिरहेको थियो। कयौँका न्याय त्यहाँ खरानी बने।

चन्द्रागिरि जल्यो, चौधरी ग्रुप जल्यो। हिजो बत्तीस पुतलीमा आउँदा मारवाडीहरूको विशाल भवन तोडफोड हुँदै थियो। तिनले कमाए होलान्, तर यहाँ लगानी पनि गरिरहेकै त थिए। तिनले गरेका लगानीमा निर्भरहरू आजबाट एकै पटक बेरोजगार बने। तिनका दिन फेरि पहिलेजस्तै कसरी होला?

केपी ओली नेतृत्वको सरकारले सत्ताका लागि अवोधमाथि गोली चलाएर रगतमाथि होली खेलेपछि जे जस्तो परिणाम हात परेको छ, त्यो हाम्रो सामुन्नेमा छ। अब जलेका सार्वजनिक सम्पत्तिको मूल्यांकन होला। अडिट गर्नेहरूले केही खर्बको क्षति निकाल्नेछन्। त्यो केही होइन। सिंहदरबारभन्दा भव्य दरबार बन्न सक्ला- आलिसान र सानदार पनि। त्यसले मेट्ला सिंहदरबारमा लागेको आगोको दाग। तर, लगानी गर्नेहरूको जलेको मन? जेनजीको नाममा भएको घुसपैठ र वितण्डाले जलाएको कान्तिपुर वा सिम्रिक एयर, हिल्टन होटेल। कोही किन यहाँ लगानी गर्ला? लगानी गरिरहेकाहरू पलायनको जोखिम जेनजीको पलायनभन्दा कम होला त?

बालेनले त पक्कै सोचेका होलान्। उनले राजनीतिक वक्तव्य दिएर संसद् विघटनलाई न्यूनतम सर्त राखेका छन्। मैलेजस्तै उनले पनि पढे होलान्- देश नेतृत्वविहीन हुँदा, कसैले नेपाली नागरिकलाई सम्बोधन नगरिरहँदा भारतीय प्रधानमन्त्रीले गरेको ट्विट। उनीहरूको क्याबिनेटमा नेपालबारे छलफल भएको विषय। हाम्रा नेता वक्तव्य निकाल्नसमेत नसक्ने अवस्थामा पुगे। जेलबाट कैदीहरू फरार भएको त बालेनले नदेख्ने कुरै भएन।

सिंहदरबार जलिरहँदाका दृश्य देखिरहेका स्वर्णिम वाग्लेले कस्तो योजना सोचेका होलान्? रवि लामिछाने जेलबाट निस्किएपछि अर्थशास्त्री वाग्लेले देश सोच्न भ्याउलान् नै। नयाँ योजना ल्याउलान्। लगानीकर्ताको धरमराएको विश्वास, आगोले खरानी बनाएको रोजगारी र पुनर्निर्माणको संकल्प कसरी अगाडि बढ्ला?

कति पर पुगेको – ‘पहिले ज्युँदै रहेस्।’

बाँच्नु नै यतिखेर सबैभन्दा ठूलो उपलब्धि हुनेछ हाम्रो पुस्ताका लागि। फेरि झलस्स सम्झिए- हरिबोलको आत्महत्या। उसले गरिरहेको नेपालमा लगानी। हिजो उपेन्द्र महतोको घर पनि लुटपाट भयो। अरूको पनि। यस्तो अवस्था आउँथ्यो भने के यिनीहरू देशमा लगानीका लागि आउँथे होलान्? न हरिबोल फर्किन्थे न उपेन्द्र।

प्रश्न मात्र आइरहेछ आज। किनकि अब के भन्ने कुनै गन्तव्यको मार्गदर्शन छैन। हिजोका आन्दोलनमा लक्ष्य हुन्थे। आज छैन। विद्रोही हुनु नै सफलता हुन्थ्यो भने माओवादी जति ठूलो शक्ति कोही हुन्थेन २०६२ पछि। विद्रोह सजिलो छ, व्यवस्थापन कठिन। त्यसमा चुकिरहँदा हरेक १० वर्ष विद्रोहको यस्तो आगोमा दनदनी बनिरह्यो। लाग्थ्यो- अबको पुस्ताले हाम्रोजस्तो आन्दोलनको सामना गर्न पर्दैन। हुर्किँदै गरेको मेरो छोरो अर्को १० वर्षभित्रै अर्को आन्दोलनमा उत्रिने पो हो कि ! आन्दोलन र विद्रोह हाम्रा लागि नियमित आकस्मिकता बनिरहे।

निराशा धेरै भयो- जल्यो, सकियो।

यही कठिन परिस्थितिमा अब सम्हालिनुको विकल्प छैन। परिस्थिति सम्हाल्ने मात्र होइन, लगानीकर्ताको ढलेको आत्मविश्वास पनि जगाउनुपर्ने छ। कतिको मृत आत्मविश्वास पुनर्जागृत गर्नपर्छ। किनकि आत्मविश्वास ढलेको दिन केही बाँकी रहने छैन। मीनबहादुरहरूलाई फेरि उठाउनु पर्छ। नत्र अलपत्र पर्छन् उनले एमबीबीएस पढाउँदै गरेका गरिबहरू। वर्षमा ३ जनालाई लुसुक्क एमबीबीएसमा भर्ना गराउँथे उनले। नेताहरूले आफ्ना मान्छेलाई पढा भन्न थालेपछि मीनबहादुरले ‘स्कलरसिप दिन छाडेँ’ भने। तर भित्रभित्रै पढाइरहे। उफ ! सम्झनामा तिनै जेनजीहरू सम्झिएँ जसलाई मीनबहादुरले पढाइरहेछन्।

मेरै टोलको प्रहरी बिट जल्यो। हामीले सुरक्षाका लागि हारगुहार गरेर ल्याएका थियौँ। अब तिनै प्रहरी असुरक्षित छन्। तिनको बासको ठेगान छैन। तिनै सम्हालिन समय लाग्ने अवस्था छ। तिनीहरू सबै गोली चलाउने थिएनन्। ढिलै गरी भए पनि गए रातिदेखि सेना सक्रिय भयो। सेनाले जनतालाई सुरक्षित गराउँछु भन्दा थोरै भए पनि आशा जाग्ने रहेछ।

अब नयाँ परिस्थिति अगाडि बढाउने राजनीतिले नै हो। जति घृणा गरे पनि निकास राजनीतिभन्दा बाहिरबाट आउन सक्दैन। त्यो राजनीतिको मोडालिटीले तय गर्छ हाम्रो भविष्य। जेनजीले जुन उद्देश्य लिएर आन्दोलन गर्‍यो, त्यसलाई हाई ज्याक गर्न तम्सिनेहरू सक्रिय भइसकेका छन्। यहाँनेर जेनजीको नेतृत्व कति सफल हुन्छ हेर्न बाँकी छ। बाँकी त हाम्रो भाग्य मात्र हो- जुन कुनै पनि बेला जल्न सक्ने रहेछ सिंहदरबार जस्तै।