नाता सम्बन्ध टुटाइरहेको मिटरब्याजको धन्दा, ‘छोरी’को जाहेरीमा ‘आमा’ पुगिन् हिरासत



सविन ढकाल
२०८२ भदौ १९ गते २१:१४ | Sep 4, 2025
नाता सम्बन्ध टुटाइरहेको मिटरब्याजको धन्दा, ‘छोरी’को जाहेरीमा ‘आमा’ पुगिन् हिरासत


काठमाडौं। बानेश्वर बस्दै आएकी ६१ वर्षीया विष्णुमाया बस्नेत र सुशीलाकुमारी अधिकारीको सम्बन्ध आमाछोरी जस्तै देखिन्थ्यो। छोरीकै उमेरकी सुशीला मातातीर्थ औंसीमा आमालाई भेट्न भन्दै विष्णुमाया कहाँ पुग्थिन्।

Tata
GBIME

विष्णुमायाले पनि सुशीलालाई छोरीकै जस्तै सहयोग गर्ने गरेकी थिइन्। घरायसी कामदेखि व्यापारसम्म आइपर्दा एक अर्कालाई साथ दिने गरेका उनीहरुको आमाछोरीको जस्तो सम्बन्धमा केही समययता दरार आएको छ। ‘छोरी’कै उजुरीमा यतिखेर विष्णुमाया प्रहरी हिरासतमा छिन्। उनीमाथि अनुचित कारोबार गरेको मुद्दा जिल्ला अदालतमा विचाराधीन छ।

सय कडा पाँचको कारोबार!

२०७५ सालतिर सुशीलाले व्यापार गर्न केही सहयोग चाहिएको विष्णुकुमारीलाई सुनाउँछिन्। विष्णुमायाले सहयोग गर्ने चाहना मात्र व्यक्त गर्दिनन्, पैसाको व्यवस्था नै गरिदिन्छिन्। तर, त्यसमा दुई सर्त हुन्छ। पहिलो सर्त ऋणको सयकडा पाँच ब्याज तिर्नुपर्ने हुन्छ।

विष्णुमायाले राखेको सर्त गैरकानुनी हो। बैंक तथा वित्तीय संस्थाबाहेक कसैले पनि यसरी ब्याजमा पैसा लगानी गर्न पाइँदैन। दुई पक्षको मन्जुरीमा यस्तो लेनदेन चल्ने गरेको छ।

यसरी आफूखुसी ब्याजदर तोकेर पैसा दिनुलाई मिटरब्याज भन्ने गरिन्छ। सुशीला यसमा सहमत हुन्छिन्।

पैसा लेनदेनका लागि अर्को सर्त हुन्छ, खाली चेक हस्ताक्षर गरेर पहिले नै दिनुपर्ने। २६ लाख ५० हजार रुपैयाँका लागि दुई बैंकका पाँच वटा चेकमा हस्ताक्षर गरेर ‘धरौटी’का रुपमा विष्णुमायाले बुझ्छिन्। सुशीला सोही वर्ष लिएको रकम र भने अनुसारको ब्याजसहित ४० हजार नगद दिएको बताउँछिन्।

तर, अगाडि दिएको चेक भने फिर्ता आउँदैन। हराएको भन्दै विष्णुमायाले चेक फिर्ता गर्दिनन्। यतिसम्म उनीहरूको सम्बन्ध सुमधुर नै देखिन्छ। जब विष्णुमायाले ‘चेक बाउन्स’ भएको थप रकम नदिए मुद्दामा जाने भन्दै धम्क्याउँछिन्. सुशीला छाँगाबाट खसेझैँ हुन्छिन्।

त्यो चेक छोरीको नाममा जारी गरेर ‘बाउन्स’ गराउने भन्दै थप ८० लाख रुपैयाँ माग्न थाल्छिन्। विष्णुमायाले आफ्ना ज्वाइँ निर्वाचन कार्कीलाई वादी बनाएर जिल्ला प्रहरी परिसर ललितपुरमा चेक बाउन्सको केस समेत दर्ता गराउँछिन्।

त्यसपछि सुशीला प्रहरीकहाँ जान बाध्य हुन्छिन्। जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गर्छ। विष्णुमायाले अनुचित कारोबार गरेको निष्कर्षसहितको प्रतिवेदनका आधारमा अदालतमा मुद्दा दायर हुन्छ।

‘वित्तीय कसुरको यो ट्रेन्ड काठमाडौंमा देखिएको छ। मिटरब्याजमा रकम लिने अनि अगाडि चेकमा हस्ताक्षर गरेर धरौटी दिने गरेका केस धेरै छन्,’ जिल्ला प्रहरी परिसरका एसएसपी विश्व अधिकारीले भने।

+++

काठमाडौं बस्दै आएकी शारदादेवी अधिकारी र महेश उपाध्याय नाताले सहोदर दिदीभाइ हुन्। शारदाको सर्लाहीमा केही जग्गा जमिन थियो। भाइको सल्लाहमा नै उनले त्यो जग्गा बेचिन। उनले जग्गा बेचेपछि आएको पैसाले काठमाडौंमा जग्गा किनेर कारोबार गरी मुनाफा बाँड्ने योजना भाइलाई सुनाएकी थिइन्।

आफ्नै भाइलाई अविश्वास गर्नुपर्ने कारण पनि खासै थिएन। तर, अहिले दिदीभाइको सम्बन्ध यही जग्गा कारोबार र मिटरब्याजमा आएर टुटेको छ। दिदीको जाहेरीमा भाइविरुद्ध अनुचित लेनदेनको मुद्दा लागेको छ।

सर्लाहीको जग्गा बेचेर उनीहरुले भक्तपुरको गुन्डुमा जग्गा किनेका थिए। तर, त्यसको पैसा नदिएपछि भाइले दिदीलाई मिटरब्याजको कागज बनाएर अप्सरा दाहाल नामकी महिलालाई ऋणी बनाएर मिटरब्याजको त्रास देखाएपछि दिदी बाध्य भएर प्रहरीकहाँ पुगेकी थिइन्।

जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धानले महेश र अप्सराले मिलेर मिटरब्याजको खेलो गरेको देखाएको छ।

काठमाडौंमै मिटरब्याजका घटना बढेका छन्। गत आर्थिक वर्ष २०८१/८२ मा मिटरब्याजका ३० वटा मुद्दा चलेका छन्। जबकि अघिल्लो वर्ष यो सङ्ख्या ९ थियो। मिटरब्याजमा गुन्डागर्दीमा संलग्नदेखि प्रहरीका उच्च तहका कर्मचारीको समेत पैसा फसेका घटना छन्।

मंगलबार काठमाडौं प्रहरीले काठमाडौं महानगपालिका वडा नम्बर २६ सामाखुसीको एक घरमा छापा मार्दा प्रहरीले ४ करोड २६ लाख रुपैयाँ र करिब १० किलो सुन बरामद गर्यो। घरधनी विनोदकुमार श्रेष्ठ समेत पक्राउ परे। उनले सुन धरौटीमा राखेर रकम मिटरब्याजमा दिने गरेको देखिएको छ।

तीन बुँदे माग राख्दै केही समयदेखि काठमाडौंको माइतीघरमा मिटरब्याजपीडितले धर्नामा छन्। चर्को ब्याज तिर्नुका साथै आफ्नो जायजेथा गुमाएका पीडित धेरै छन्। सरकारले विभिन्न आयोग बनाएर काम गरे पनि मिटरब्याजको धन्दा रोकिएको छैन।