काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेको मालपोत कार्यालय धुलिखेलमा बुधबार स्टिङ अपरेसन गर्दै एक जना खरिदारलाई घूसको रकमसहित नियन्त्रणमा लिएको छ।
खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई दुई लाख रुपैयाँ घुससहित पक्राउ गरिएको आयोगले जनाएको छ। काभ्रेपलाञ्चोकको साबिक दोलालघाट गाविस-७ मा रहेको फिल्डबुकमा दर्ता छुट भएको जग्गाधनीको नाममा दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग उक्त रकम घूस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो।
आयोगको केन्द्रीय कार्यालय टंगालबाट टोली धुलिखेल पुगेको थियो। आयोगको टोलीले खरिदार भण्डारीलाई मालपोत कार्यालय परिसरबाटै पक्राउ गरेको हो।
भण्डारीको साथबाट आयोगले एउटा मोबाइल सेट पनि नियन्त्रणमा लिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जनाएका छन्।








