काठमाडौं। मुलुकभित्र निजी क्षेत्रको लगानीमा बनेको पहिलो फिल्म ‘माइतीघर’ को शीर्ष गीत ‘प्राणभन्दा प्यारो माइतीघर’ अहिलेको पुस्तामा पनि उत्तिकै लोकप्रियमा पर्छ। फिल्म ५९ वर्ष अघिको थियो। किरण खरेलको रचनामा स्वर आशा भोसलेको छ भने संगीत जयदेवले गरेका हुन्। नयाँ फिल्मले पुरानै गीत ल्याउँदैछ तर नयाँ स्वरूपमा तयार गरेर।
नाम उही, गीत उही ‘माइतीघर’ राखिए पनि नयाँ परिवेशमा पुरानो मर्म रहनेगरी तयार गरिएको निर्माता रोहित अधिकारीले बताए। ‘माइतीघर’ को पुरानै गीतलाई नयाँ स्वरूपमा दिइएको उनले खुलाए।
यसपटक गीतमा स्वर भने सञ्जिवनीको छ। पुरानो गीतलाई स्वरमात्र नयाँ दिएर तयार गरिएको बताएका अधिकारीले भने, ‘पुरानो नाममै फिल्म बनाउने निर्णय गरेपछि कालजयी उक्त गीतलाई नयाँ स्वरूपमा ल्याउने तयारी गरेर अहिले सार्वजानिक गरेका छौं। पुरानो गीतको मर्मलाई कायम राख्दै नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले फिल्ममा लिएका हौं। गीतले फिल्मको कथा अगाडि बढाउँछ।’
फिल्मको बजार प्रवर्धनका लागि निर्माण टोलीले प्रतिष्पर्धात्मक अफर सार्वजनिक गरेको छ। निर्माता अधिकारीका अनुसार उक्त गीतमा श्रव्यदृश्य (भिडिओ) बनाउनेमध्येबाट उत्कृष्टलाई पाँच लाख रुपैयाँ पुरस्कार दिइने छ। यसका लागि प्रतियोगिता घोषणा गरिएको उनले बताए।
‘गीतको श्रव्यदृश्यमा राम्रो नृत्य गरेर हामीलाई पठाउनेमध्ये एक जनाले फिल्म सार्वजनिक रूपमा प्रदर्शन हुनु अगाडि प्रतियोगिताको विजेता घोषणा गरी पुरस्कार पाउनुहुनेछ। प्रतियोगितामा सहभागी हुन ४० सेकेण्डदेखि २ मिनेटसम्मको श्रव्यदृश्य तयार गरेर हामीलाई पठाउनुपर्नेछ।’, उनले भने, ‘यसले गीतलाई नयाँ पुस्तामा पुर्याउनुका साथै फिल्मको प्रचारमा मद्दत गर्नेछ।’
नयाँ फिल्ममा अभिनेत्रीद्वय उपासना सिंह ठकुरी र श्याम श्री शेर्पाले अभिनय गरेका छन्। माइतीघरको उक्त शीर्ष गीतमा अभिनेत्रीहरुलाई नृत्य निर्देशन कविराज गहतराजले गरेका छन्। मानकृष्ण महर्जन र सुशन प्रजापतिले छायांकन र सुरेन्द्र पौडेलले सम्पादन गरेका छन्।
मिलन तामाङको निर्देशनमा तयार फिल्ममा केदार घिमिरे, धीरज मगर, प्रकाश सपुत, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारले अभिनय गरेका छन्। दसैंको फूलपातीदेखि फिल्म प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ। रासस









