पीटीई परीक्षाको नाममा वार्षिक डेढ अर्बभन्दा बढी हुण्डीबाट विदेशमा पैसा, यसरी हुन्छ अवैधानिक कारोबार



सविन ढकाल
२०८२ साउन ९ गते ०९:०० | Jul 25, 2025
पीटीई परीक्षाको नाममा वार्षिक डेढ अर्बभन्दा बढी हुण्डीबाट विदेशमा पैसा, यसरी हुन्छ अवैधानिक कारोबार


काठमाडौं । पछिल्लो समय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शैक्षिक कन्सल्टेन्सी लक्षित भएर अनुगमन थालेको छ। कन्सल्टेन्सीले विदेश पठाउने नाममा विद्यार्थीलाई ठगी गरिरहेको, दर्ता नै नगरेर सञ्चालन गरेको र राज्यलाई तिर्नुपर्ने कर समेत ठगी गरेको गुनासो बढेपछि विभागले अनुगमन थालेको हो।

Tata
GBIME

अहिलेसम्म ४० वटा कन्सल्टेन्सीहरु विभागको दायरामा आएका छन्। जसलाई अनुमति नै नलिइ सञ्चालन भएका ७ वटा र बाँकीलाई भने विभिन्न कागजपत्रहरु समेत पेस गर्न भनिएको छ।

कन्सल्टेन्सीले पाउने शुल्क कसबाट उठाउने, पीटीई (पियर्सन टेस्ट अफ इङ्ग्लिस) शुल्क समेतलाई लिएर अनुगमन गरेको छ। पछिल्लो समय वैदेशिक शिक्षामा जानेको लागि पीटीई फस्टाएको छ। तर, विद्यार्थीले परीक्षा शुल्कको नाममा तिर्ने रकमको करको दायित्व नेपाल सरकारको नाममा आउने गरेको देखिएको छैन।

‘पीटीई गराउने केही कन्सल्टेन्सीको बारेमा अनुगमन भएको छ। यस विषयमा नेपालमा पीटीईका आधिकारिक व्यक्तिलाई पनि सम्पर्क गरेका छौं। करको विषयलाई पनि हेर्छौं। हाम्रो कार्यक्षेत्र नभएकोमा उल्लेख गरेर सम्बन्धि विभागमा पठाउँछौं,’ अनुगमन अधिकृत अमित झाले भने।

पीटीई परीक्षाका लागि लिइने शुल्कमा करोडौं रुपैयाँ कर छली समेत भएको छ। यो परीक्षाका नाममा नेपालबाट वार्षिक करिब २ अर्ब रुपैयाँभन्दा बढी विदेश जान्छ। तर, त्यसको हिसाबकिताब नेपालमा देखिन्न। करको दायरा बाहिर हुनुको मुख्य कारण हो – पीटीई परीक्षा लिने संस्था दर्ता नहुनु। संख्यात्मक हिसाबले उल्लेख्य विद्यार्थी पीटीई परीक्षामा समावेश हुँदा सरकारले कर करोडौंमा गुमाइरहेको हो।

ग्रे लिस्टबाट बाहिरिन नेपालले विभिन्न मापदण्ड निर्धारण गरेर काम गइरहेको बेला यस्ता गतिविधिले झन् समस्यातिर धकेल्छ। पीटीई परीक्षाका लागि अबको १५ दिनको सबै भौचर बिक्री भइसकेको छ। जसमा १० हजार भन्दाबढी विद्यार्थीले परीक्षा दिन्छन्।

एक जना विद्यार्थीले २४ हजार रुपैयाँ शुल्क तिर्छन्। यो आधारमा २४ करोड रुपैयाँ पीटीईका नाममा उठेको छ। तर, यो रकम उठाउने कुनै कार्यालय नेपालमा छैन। उनीहरुले यहाँका कन्सल्टेन्सीलाई त्यो भौचर बिक्री गर्छन्।

नेपाल शैक्षिक परामर्श संघका एक पदाधिकारीका अनुसार एक आर्थिक वर्षमा ७० हजारभन्दा बढीले पीटीई परीक्षा दिन्छन्। यो आधारमा २४ हजार शुल्कै आधारमा पनि १ अर्ब ६८ करोड रुपैयाँ राज्यको नियमनभन्दा बाहिर रहेर विदेशिने गरेको छ।

पीटीईका साउथ एसियाका क्षेत्रीय डाइरेक्टर प्रभुल रविन्द्रन अहिले नेपालमा कुनै पनि कार्यालय नरहेको बताउँदै परीक्षा केन्द्र र स्थानीय वितरण साझेदारमार्फत काम भइरहेको बताउँछन्।

‘स्थानीय कार्यालय स्थापना गर्ने भविष्यका निर्णयहरू बजारको विकसित आवश्यकता र मागमा निर्भर हुनेछ,’बिजमाण्डूसँग सम्पर्कमा आएका प्रभुलले भने।

नेपालमा पीटीई परीक्षाका लागि हाल १० वटा सेन्टर सञ्चालनमा छन्। सुरुमा दुईवटाबाट सुरु गरिएकामा विद्यार्थीको चापका कारण सेन्टर १० वटासम्म पुगेका थिए अहिले काठमाडौंका अलावा मोफसलमा पोखरा, बुटवल, चितवन र इटहरीमा परीक्षा केन्द्र छन्। सबैभन्दा धेरै विद्यार्थी भने काठमाडौंकै सेन्टरबाट परीक्षामा सहभागी हुने गरेका छन्।

नेपालमा पीटीई परीक्षा अल्फा बिटा, मिड भ्याली इन्टरनेसनल कलेज, काठमाण्डू कलेज अफ म्यानेजमेन्ट, द ब्रिटिस प्रोफेसनल कलेज, युनिभर्सल ल्यान्ङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट, चितवन मेडिकल कलेज भरतपुर र पोखरामा हुने गरेको छ। सबैभन्दा धेरै विद्यार्थीको रोजाईमा काठमाडौंको अल्फाविटा नै पर्ने गरेको छ।

परीक्षामा नेपाली विद्यार्थीले अमेरिकाबाट डलरमा भौचर खरिद गरेको देखिन्छ। तर, ‘ग्रे जोन’मा हुने यस कारोबारको स्वामित्व लिने कम्पनी नेपालमा छैन।

विदेश अध्ययनका लागि जाने विद्यार्थीले पीटीई परीक्षाको मिति अनलाइनबाट नै लिनुपर्छ। अनलाइनबाट हुने परीक्षाको मिति निर्क्योलका लागि शुल्क बुझाउनुपर्छ। पियर्सनपिटीडटकममा गई अनलाइन खाता खोलेपछि मात्र प्रकृया सुरु हुन्छ। त्यसपछि ‘फाइन्ड योर टेस्ट’ अप्सनमा गएर जाने मुलुक र आवश्यक विवरण अपलोड गर्नुपर्छ। त्यसपछि भुक्तानी गर्नुपर्छ।

कन्सल्टेन्सीले २९ हजार रुपैयाँसम्म लिने गरेका छन्। यतिसम्म कि कुनै कन्सल्टेन्सीले त ब्लकका ब्लक पीटीई परीक्षाको सिट होल्ड गरेर राखेका हुन्छन्। यसरी होल्ड हुँदा अनलाइनबाट आफैं रकम तिर्न चाहने विद्यार्थीले ‘डेट’ पाउँदैनन्।