क्रिकेट एकेडमीको बिजनेस : संरचनामा करोड बढी लगानी, जहाँ खेल्न पुग्छन् एलिटहरू

मुकुन्द घिमिरे
२०८२ असार २५ गते ०६:०१ | Jul 9, 2025
क्रिकेट एकेडमीको बिजनेस : संरचनामा करोड बढी लगानी, जहाँ खेल्न पुग्छन् एलिटहरू

काठमाडौं। पछिल्ला वर्षहरूमा नेपालमा सर्वाधिक रुचाइने खेल कुन हो? उत्तर दिन धेरै सोच्न पनि पर्दैन! जवाफ फ्याट्टै आउँछ : क्रिकेट। एकताका यस्तै प्रभाव थियो फुटबलको।

Tata
GBIME

सन् २०१४ मा पहिलो पटक विश्वकपमा पुगेपछि नेपालमा क्रिकेटको क्रेज ह्वात्तै बढेर गयो। हाल राष्ट्रिय टोलीका कप्तान लगायतका खेलाडीहरू विश्वकपमा नेपाल खेलेको हेरेर नै क्रिकेटर बन्ने सपना देखेको बताउँदै आएका छन्।

पछिल्ला वर्षहरूमा नेपालले विश्वकपसँगै एसिया कप पनि खेल्यो। सधैँ टेलिभिजनमा हेर्ने भारत, पाकिस्तानसँग पनि खेल्यो। नेपालमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)ले पनि त्यतिकै माहोल बनायो।

क्रिकेटले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा माहोल बनाइरहँदा सँगसँगै क्रिकेट एकेडेमीहरूको विस्तार पनि बढिरहेको छ। काठमाडौंभित्र र बाहिर पनि त्यतिकै एकेडेमीहरू खुलेका छन्।

मदन कार्की क्रिकेट एकेडेमीको व्यवसायमा लागेको पनि वर्ष दिनभन्दा धेरै भइसक्यो। उनले सविन कार्कीसँग मिलेर यो एकेडेमी सुरु गरेका थिए। हाल भने यो एकेडेमीमा कुन्दन खड्का र उनको स्वामित्व छ।

‘नेपालमा एकेडेमीको राम्रो प्लेटफर्म नपाएर भारत गइरहेका छन्। त्यसलाई रोकौं र नेपालमै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सकियोस् भन्ने उद्देश्यले खोलेको हो,’ उनले भने।

काठमाडौंको बुढानिलकण्ठस्थित चुनिखेलमा छ उनको ‘काठमाडौं क्रिकेट एकेडेमी’ (केसीए)।

सोचेजस्तो एकेडेमी नपाउँदा!

कार्की क्रिकेट पृष्ठभूमिका होइनन्। उनी गैरसरकारी र प्रविधि क्षेत्रमा लामो समय काम गरेको बताउँछन्। उनको बच्चाले क्रिकेटमा चासो दिएपछि उनी क्रिकेटको एकेडेमीमा होमिएका हुन्।

‘मेरो बच्चाले क्रिकेटमा लगाब राखेको थियो। त्यसपछि मैले काठमाडौंका धेरै एकेडेमी घुमेँ। सबै ठाउँमा गएँ,’ उनले भने, ‘कतै ग्राउण्ड छैन, कतै प्रोपर कोच राखेको छैन। त्यो सबै हेर्दा किन कसैले नगरेको? कहीँबाट त सुरु हुनुपर्छ भन्ने लाग्यो।’

त्यसपछि उनी लागे काठमाडौंमा इन्डोरसँग आउटडोर मैदानसहितको एकेडेमी बनाउन।

मदन कार्की – संचालक, काठमाडौं क्रिकेट एकेडेमी

‘एउटा बच्चाले इन्डोरमा मात्र या प्राक्टिस पिचमा प्राक्टिस गरेर मात्र खेलाडी बन्छ जस्तो मलाई लागेन। त्यसपछि ग्राउण्डसहितको एकेडेमी बनायौं भने नेपालमा खेलाडी उत्पादनमा सहयोग होला भनेर सोचेका हौँ,’ उनले भने।

केसीएमा हाल मुख्य प्रशिक्षक जगत टमाटा छन्। त्यस्तै, सामसन जंग थापाले पनि यहाँ प्रशिक्षण गराउँछन्। सिनियरदेखि उमेर समूहसम्मका राष्ट्रिय टोलीलाई हेरिसकेका प्रशिक्षकलाई भित्राएर केसीएले आक्रामक रुपमा व्यवसाय बढाउन खोजिरहेको छ।

एकेडेमीको ‘बजार’ र लगानी

नेपाली क्रिकेटमा बढ्दो क्रेज नै एकेडेमीका लागि राम्रो बजारको लक्षण हो।

‘क्रिकेटमा म्याच हुँदाको क्राउड जुन देखिन्छ। नेपालको राष्ट्रिय टोलीमा राम्रो देखिएको छ। क्रिकेट खेलेरै जीवन चलाउन सकिन्छ भन्ने सन्देश क्रिकेटले दिएको छ। ब्याट र बलबाटै जीवन चल्छ भन्नेमा मान्छेहरू कन्भिन्स हुँदै आउनु भएको छ,’ कार्कीले भने, ‘कहीँ न कहीँ प्रोफेसनल खेलाडी उत्पादन होस् भन्ने हिसाबले हामीले एकेडेमी सुरु गरेका हौँ।’

सुरुमा सामान्य बजेटको आकलन गरेर एकेडेमी खोलेको भए पनि त्यसको झण्डै दोब्बर लगानी भइसकेको कार्की बताउँछन्।

‘सुरुमा ६०/७० लाख लगानीको आकलन गरेर एकेडेमी सुरु गरेका थियौं। यो ठाउँ ठूलो भएकाले सानो-सानो कुरामा पनि खर्च बढ्दा करोडभन्दा पनि निकै माथिको लगानी गइसकेको छ,’ उनले भने।

एकेडेमीमा लगानी बढ्नुको पछाडि यसको संरचना नै मुख्य कारण हो।

‘३० हजार स्क्वायरफिटको आउट डोर छ। त्यस्तै करिब १० हजार स्क्वायरफिटको इन्डोर छ। हामीसँग दुईवटा नेट प्राक्टिस छ, टर्फ नै हो त्यसमा एउटा ढलान छ। दुईवटा सेन्टरविकेट राखेका छौँ। पाँचवटा फरक किसिमका पिच बनाएका छौँ। एउटा पिच बलिङ मसिनलाई टार्गेट गरेर बनाएका छौँ,’ संरचनाबारे कार्कीले भने।

त्यस्तै, बलिङ मसिनलाई अब ल्याएर ब्याट्सम्यान तयार गर्ने उनी बताउँछन्।

‘नेपालका बलरहरूले १४०/५० को स्पिडमा फ्याक्दैनन्। अहिले फ्याक्ने सबैभन्दा धेरै भनेको १३५/४० हो। त्यसमा सानैदेखि ब्याट्सम्यान अभ्यस्त हुन् भन्ने लक्ष्य हो। यस्तोमा ब्याट्सम्यानको अभ्यास होस भन्ने हो,’ उनले भने, ‘एकदिन देख्दैनन्, दुई दिन देख्दैन। एकहप्ता देख्दैनन्। त्यसपछि त देख्न थाल्छन्। ब्याटमा बल लाग्न थाल्छ।’

क्युरेटर अजय पाण्डे पिचको सोइलिङदेखि माटोको क्ले कन्टेन्ट स्तरलाई पूरा गरेको बताए।

क्युरेटर अजय पाण्डे

‘अन्तर्राष्ट्रिय म्याचका लागि पिचको जुन रिक्वायरमेन्ट हुन्छ त्यो बनाएर खेलाडीलाई खेल्ने अवसर दिएका छौँ,’ उनले भने, ‘टीयू या मुलपानीको मैदान पिचमा खेलेको भाइव यहाँ हुन्छ। भोलिको दिन त्यहाँ गएर खेल्दा उनीहरूले त्यति नै खेल्न सक्छन्, जति अन्तर्राष्ट्रिय खेलाडी खेल्न सक्छन्।’

सेन्टरमा दुईवटा विकेट छन्। एउटाले पेस बलरलाई साथ दिन्छ र अर्को टर्निङ विकेट छ। यसोहुँदा सबैलाई अभ्यास हुने बताए।

४ वटा सेसन र अभ्यास

यो एकेडेमीमा हाल १५० जनाभन्दा बढी विद्यार्थी भर्ना भएर खेलिरहेकफो कार्कीले बताए। हाल यहाँ ३ वटा सेसन छन् र अब अर्को सेसन पनि थपिएको उनले बताए।

पहिलो सेसन बिहान ७ बजेदेखि ९ बजेसम्म, दोस्रो सेसन १०-१२ बजेसम्म, तेस्रो २ देखि ४ बजेसम्म र चौथो स्कुलबाट आउने बच्चालाई केन्द्रित गरेर ५- ७ बजेको सेसन छ।

‘बच्चाहरूको सेसनहरू ६ दिन चल्छ। बेलुका आउने बच्चालाई बाहिर म्याच खेलाउन अफ्ठेरो छ। आउट डोरमा लाइट भइसकेको छैन। त्यसैले उनीहरूको म्याच शनिबार गराइरहेको छौं,’ कार्कीले भने।

मुख्य प्रशिक्षक जगत टमाटा

अर्कोतर्फ हेडकोच जगत टमाटा लामो फर्म्याटमा खेल्नका लागि खेलाडी तयार गरिरहेको बताउँछन्।

‘रअ बच्चाहरू पनि छन्। केही सिकेका बच्चा पनि छन्। एलिट पनि छ,’ टमाटाले भने, ‘बच्चाको स्तरको हिसाबले कोचिङ गरिरहेका छौं। कोचको विभाजन पनि त्यही हिसाबले गरेका छौं। त्यसभन्दा अघि क्रिकेटको इतिहास बुझाउन पनि केन्द्रित छौं।’

क्रिकेटर बन्न वार्षिक कति लाग्छ?

यो एकेडेमीमा नयाँ खेलाडीदेखि अन्तर्राष्ट्रिय स्तरका खेलाडीसम्म अभ्यास गर्न आउँछन्। प्रशिक्षक पनि त्यही हिसाबले यहाँ राखिएको छ।

‘हामीले यहाँ सुरुको रअ बच्चादेखि अन्तर्राष्ट्रिय स्तरमा अनुभव बटुलिसकेका खेलाडीसम्मलाई सिकाइरहेका छौं। र, बच्चालाई हेर्न बेसिक लेभलमा काम गर्ने कोच हुनुहुन्छ,’ कार्कीले भने, ‘माथिल्लो लेभलमा जगत गुरु र सामसन गुरु हुनुहुन्छ। नेपालमा राष्ट्रिय टोलीमा जति खेलाडी जति खेलिरहनु भएको छ, उहाँहरूको योगदान छ। उहाँहरूले जसरी राष्ट्रिय टोलीमा जसरी ट्रेनिङ गराइरहनु भएको छ।’

यहाँ एडमिसनका लागि शुल्क १२ हजार तोकिएको छ। यसमा हाल ५० प्रतिशत छुट छ। त्यसपछि मासिक शुल्क छ। यसमा शुल्क सेसन अनुसारले हुन्छ। तर, अहिले एउटै भएको कार्कीले बताए।

त्यसो भए नयाँ खेलाडीलाई एक वर्ष क्रिकेट सिकाउँदा मोटामोटी कति खर्च आउँछ त?

‘मासिक शुल्क ५ हजार हो। त्यसमा पनि छुट दिएर अहिले ३५०० रुपैयाँ लिइरहेको छ। एकेडेमी ल्याउँदा पर्ने खर्च सुरुमा १५ हजार जति पर्ला,’ कार्कीले भने, ‘सानो बच्चाको लागि किट धेरै किसिमको हुन्छ। ब्राण्ड र क्वालिटी अनुसार किटको मूल्य हुन्छ।’

बच्चालाई औसत् किट लिएर पठाउँछु भन्ने हो भने १०/१५ हजारमा १/२ वर्ष खेल्ने किट आउने उनले बताए। यसरी एडमिसन, मासिक शुल्क र आफ्नो हिसाबको किटलिँदा औसत् २५ देखि ३० हजार सुरुमा लागत आउने देखिन्छ। यसमा महिनाको हालमा ३५ सय छ। यसरी सरदर ६०-७० हजार रुपैयाँले एक वर्षको योजना बनाउन सक्ने देखिन्छ।

विभिन्न ट्यालेन्ट हन्ट, जिल्ला छनोट लगायतका अवसर आउँदा खेलाडीलाई छनोट प्रक्रियामा पठाउन पनि एकेडेमीले सहयोग गर्ने गरेको कार्कीले बताए।

‘एकेडेमीको बिजनेस आजको भोलि हुने बिजनेस होइन। यसले समय लिन्छ। त्यहि सोचेर लगानी गरेका छौं। पहिलो त हामी कतिको क्वालिटी खेलाडी उत्पादन गर्न सक्छौं भन्ने महत्त्वपूर्ण हो,’ उनले भने।