
काठमाडौं। सरकार र चिकित्सक संघबीच तीन बुँदे सहमति भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको वार्तामा सरकार र आन्दोलनरत संघबिच सहमति भएको हो।
उपभोक्ता अदालतबाट पछिल्लो समय भएका फैसलाको विषयलाई लिएर संघले आन्दोलन सुरु गरेको थियो। पछिल्लो दुई दिन आकस्मिक बाहेकको सम्पूर्ण सेवा स्वास्थ्य संस्थाहरुले बन्द गरेका थिए।
द्धिपक्षीय सहमति अनुसार उपभोक्ता संरक्षण ऐन लगायतका कानुनी र नीतिगत संरचना सुधार र संशोधन हुनेछ। कानुन सुधारको सुझावका लागि तीन सदस्यीय कार्यदल पनि गठन भएको छ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयको आपूर्ति तथा उपभोक्ता हित संरक्षण महाशाखाका प्रमुखको संयोजकत्वमा कार्यदल गठनको सहमति भएको हो। कार्यदलमा कानुन मन्त्रालयका सहसचिव र स्वास्थ्य मन्त्रालयका सहसचिव सदस्य रहनेछन्।
कार्यदलको सुझाव अनुसार उपभोक्ता संरक्षण ऐन लगायतका विद्यमान कानुनी र नीतिगत व्यवस्था संशोधनको प्रक्रिया अघि बढाउने सहमतिमा उल्लेख छ। कार्यदलको सुझाव प्राप्त भएको ११ दिनपछि कानुन संशोधनको सैद्धान्तिक सहमति मन्त्रिपरिषद्बाट लिने सहमतिमा उल्लेख छ।
फास्ट ट्रयाकबाट कानुन संशोधनको प्रक्रिया अघि बढाउने पनि सहमतिमा उल्लेख छ।
