बीमा प्राधिकरण अध्यक्ष ओझाको प्रष्टीकरण- योग्यता पुगेरै नियुक्ति पाएको हुँ, ‘ऐन अनुसार पुग्दैन’

बिजमाण्डू
२०८२ असार २४ गते ११:५२ | Jul 8, 2025
बीमा प्राधिकरण अध्यक्ष ओझाको प्रष्टीकरण- योग्यता पुगेरै नियुक्ति पाएको हुँ, ‘ऐन अनुसार पुग्दैन’

काठमाडौं। नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले अनुभव र योग्यता पुगरै सरकारले आफूलाई नियुक्त गरेको उल्लेख गरेका छन्।

Tata
GBIME

बिजमाण्डूमा सोमबार प्रकाशित ‘अख्तियारको अनुसन्धानमा फर्जी कागजात भेटिएपछि अर्थमन्त्रीले बीमा प्राधिकरणका अध्यक्षलाई भनेका थिए,- राजीनामा गर्नुस्’ शिर्षकको समाचारको खण्डन गर्दै उनले अर्थमन्त्रीसँग आफ्नो कुराकानी नभएको दाबी गरेका छन्।

प्राधिकरणको अध्यक्ष पदमा आवेदन दिँदा पूर्णकालीन, व्यवस्थापन कलेज आंशिक अध्यापन गराएको, परामर्शदाता, केही संस्थामा अनुसन्धानकर्ता र कानुन व्यवसायीको रूपमा समेत काम गरेको अनुभव पेस गरेको उनले उल्लेख गरेका छन्।

‘पछिल्लो समय मैले कम्पनी ऐन बमोजिम स्थापित चाणक्य मिडिया प्रालिमा वरिष्ठ प्रबन्धक (सञ्चार राजनीतिज्ञ) तथा विशेष संवाददाताको रूपमा नियुक्ति लिई ३ वर्ष काम गर्नुका साथै ट्रिनिटी एक्जिम प्रालिमा वरिष्ठ प्रबन्धक (रणनीति तथा सञ्चार)को रूपमा २ वर्ष काम गरेकाले बीमा ऐनले तोकेको ५ वर्षको उच्च व्यवस्थापकीय अनुभव रहेको तथ्यमा कुनै द्विविधा छैन,’ उनले भनेका छन्। 

उनले अर्थमन्त्रीसँग हुँदै नभएको संवादको हवाला दिँदै समाचार प्रकाशित भएको भनेका छन्। बीमा ऐनले तोकेको योग्यता पुगेकाले नै संक्षिप्त सूची हुँदै ३ जनामा सिफारिस भएको र ३ जनामध्ये १ जनालाई सरकारले प्राधिकरणको अध्यक्ष नियुक्त गरेको उनले खण्डनमा उल्लेख गरेका छन्। 

‘यी तथ्यलाई बिर्सँदै बिजमाण्डूबाट प्रकाशित समाचारमा फर्जी कागजात बुझाएको भन्दै लगाएको आरोप सार्वजनिक पदमा नियुक्त व्यक्तिलाई लाञ्छनायुक्त र आक्षेपपूर्ण तरिकाले हतोत्साहित तुल्याउने, मानमर्दन गर्ने र सामाजिक मान प्रतिष्ठामा आघात तुल्याउने दूषित मनसाय प्रेरित रहेको मेरो बुझाई छ,’ उनले भनेका छन्।

उनले प्रभु महालक्ष्मी जीवन बीमा कम्पनीमा काम नगरेको जनाएका छन्। हतियार बिक्री गर्ने काममा संलग्न एजेन्ट कम्पनीमा पनि काम नगरेको प्रष्टीकरण दिएका छन्। 

बिजमाण्डू नोट : ओझाले खण्डनमा योग्यता पुग्ने दाबी गरे पनि उनको उच्च व्यवस्थापकीय अनुभव भने पुग्दैन। बीमा ऐनले अध्यक्ष हुनका लागि शैक्षिकबाहेक बीमा क्षेत्रमा उच्च व्यवस्थापकीय अनुभव ५ वर्ष पूरा गरेको हुनुपर्ने उल्लेख गरेको छ। तर ओझाले समाचारको खण्डन गर्ने क्रममै बीमा क्षेत्रमा काम नगरेको उल्लेख गरेका छन्। 

ओझाले अन्य क्षेत्रको अनुभवलाई देखाएर योग्यता पुग्ने दाबी गरेका छन्। उनले चाणक्य मिडिया प्रालिमा वरिष्ठ प्रबन्धक (सञ्चार राजनीतिज्ञ) तथा विशेष संवाददाताको रूपमा नियुक्त लिई ३ वर्ष काम गर्नुको साथै ट्रिनिटी एक्जिम प्रालिमा वरिष्ठ प्रबन्धक (रणनीति तथा सञ्चार)को रूपमा २ वर्ष काम गरेकाले बीमा ऐनले तोकेको ५ वर्षको उच्च व्यवस्थापकीय अनुभव रहेको दाबी गरेका छन्।

तर, ऐनमा सम्बन्धित क्षेत्रमा भनेर बीमा क्षेत्रको अनुभव खोजिएको छ। बीमा ऐनले चाणक्य मिडिया र ट्रिनिटी एक्जिम प्रालिको अनुभव खोजेको होइन।

ओझाले अर्थमन्त्री विष्णु पौडेलसँग हुँदै नभएको संवाद भनेर दाबी गरेजस्तो भने होइन। अर्थमन्त्री पौडेलले अर्थ मन्त्रालयमा डाकेर राजीनामाका लागि आग्रह गरेको आधा दर्जन स्रोतहरुबाट पुष्टी गरेपछि बिजमाण्डूले समाचार प्रकाशन गरेको हो।

यसबाहेक प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीहरुले समेत ओझालाई राजीनामा गर्न भनेका छन्। उनीहरुले अनुभवको फर्जी कागज देखाएर नियुक्ति लिएको आधारमा राजीनामाका लागि सुझाव दिएका हुन्।

अनुभव सम्बन्धमा यस्तो छ बीमा ऐनको व्यवस्था