
काठमाडौं। एसिया कप छनोट खेलेको नेपाली महिला फुटबल टोली स्वदेश फर्किएको छ।
स्वदेश फर्किएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा)को टोली स्वागत गरेको थियो।


एएफसी एसियन कपको नजिक पुगेको नेपाली महिला फुटबल टोली छनोटबाटै बाहिरिएको छ। समूह ‘एफ’ अन्तर्गत शनिबार सम्पन्न निर्णायक खेलमा नेपाल उज्बेकिस्तानसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो।

फिफा वरीयतामा आफूभन्दा ४९ स्थानमाथि रहेको उज्बेकिस्तानसँग नेपालले कमब्याक गर्दै खेल पेनाल्टी सुटआउटसम्म पुर्याएको थियो। तर, पेनाल्टी सुटआउटमा नेपालले २ गोलमा चुक्दा एसिया कप पुग्ने सपना अधुरै रह्यो।
त्यसअघि नेपालले श्रीलंका र लाओसमाथि रवाफिलो जित निकालेको थियो। नेपालले लाओसलाई ९-० र श्रीलंकालाई ७-० गोलअन्तरले हराएको थियो।






