
काठमाडौं। पूर्व-पश्चिम राजमार्गअन्तर्गत दुम्कीबासमा रहेको विनयी खोला पुल बिहीबारदेखि संचालनमा आएको छ। उक्त नवनिर्मित पुलबाट सवारी आवागमन संचालनमा आएको नारायणगढ-बुटवल सडक आयोजनाले जानकारी दिएको छ।
विनयी खोला पुलमा अधिक भारका कारण क्षति पुग्दा सवारी आवागमन बन्द भएको थियो। पुलमा क्षति पुगेपछि सडक डिभिजन भरतपुरले अस्थायी डाइभर्सन निर्माण गरेर सवारीसाधन संचालनमा ल्याएको थियो।
तर, बर्सातका कारण पानीको बहावले उक्त अस्थायी डाइभर्सन ९ पटकसम्म बगाएको थियो। जसकारण खर्च बढ्नुका साथै यात्रा असुरक्षित हुन गई संभावित जनधनको क्षति हुन सक्ने देखिएको थियो।
सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न नयाँ पुलको निर्माण नहुन्जेलसम्म वैकल्पिक मार्गबाट सुरक्षित यात्रा गर्न सडक डिभिजनले यसअघि सूचना समेत जारी गरेको छ।
भर्खरै मात्र निर्माण सम्पन्न भएको विनयी खोला पुलबाट आवागमन सुरु हुन थालेपछि यात्रा केही हदसम्म सहज भएको छ। यद्यपि, नारायणगढ-बुटवल सडक निर्माणका क्रममा रहेकोले सो सडकमा यात्रा अझै पनि कष्टकर नै छ।