एक महिनामा ७६ करोडका अवैध मालवस्तु प्रहरीद्वारा बरामद, सुनचाँदी मात्रै १६ करोडको

बिजमाण्डू
२०८२ असार १९ गते १०:४१ | Jul 3, 2025
एक महिनामा ७६ करोडका अवैध मालवस्तु प्रहरीद्वारा बरामद, सुनचाँदी मात्रै १६ करोडको
फाइल तस्वीर

काठमाडौं। गएको जेठमा नेपाल प्रहरीले ७६ करोड ३० लाख ९८ हजार ५४१ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। बरामद मालवस्तु २४ करोड ८५ लाख ७५ हजार रुपैयाँको छ भने अवैध सुनचाँदी मात्रै १६ करोड ५५ लाख रुपैयाँको छ।

Tata
GBIME

सरकारको राजस्वमा रकम दाखिला गरेपछि प्रहरीले बिहीबार तथ्यांक सार्वजनिक गरेको हो। प्रहरीले बरामद गरेका अवैध मालवस्तुको परिमाण उल्लेख्य देखिँदा भारतीय नाका जोडिएका क्षेत्रबाट तस्करी नघटेको खुलेको छ। सुरक्षा तैनाथी कडा पारिएको सरकारको भनाइ विपरीत भन्सारबाट राजस्व छली गरेर सामान भित्रिने गरेको तथ्यांकले देखाएको छ।

नाकाहरुमा भन्सारमा जाँचका लागि कर्मचारी र सशस्त्र प्रहरीको तैनाथीका बाबजुद छलीको क्रम घटेको छैन। नेपाल प्रहरीले सानो परिमाणका छलीका सामान त बरामद गर्छ। संगठित र राजनीतिक संरक्षणका आधारमा हुने ठूला तस्करी रोक्न नसकेको आरोप सुरक्षा निकायमाथि लाग्दै आएको छ।

प्रहरीले एक महिनामा स्रोत नखुलेको १ करोड १३ लाख ३० हजार ७३२ रुपैयाँ बरामद गरेको छ भने अवैध मुद्रा ८८ लाख ९४ हजार ७२२ रुपैयाँ नियन्त्रणमा लिएको छ। हुन्डी कारोबारी नियन्त्रणमा लिएर १ करोड २५ लाख १५ हजार ९२० रुपैयाँ जफत गरेको तथ्यांकमा छ। सुन र मुद्रासँग जोडिएका विभिन्न कारोबारहरु मौलाएको देखिएको छ।

ट्राफिक कारबाहीबाट पनि ९ करोड ४१ लाख ३० हजार ७०६ रुपैयाँ राज्यकोषमा जम्मा भएको देखिएको छ। अवैध पशुपक्षी ८० लाख ९६ हजार ४९०, काठ २७ लाख ४१ हजार ७२४ रुपैयाँको बरामद गरेको छ। नदिजन्य पदार्थको अवैध उत्खनन गर्नेबाट ५० लाख ८३ हजार ७२६ रुपैयाँ राजस्व संकलन गरेको छ।