सयौँ खेलमा नेपालको फराकिलो जित, पहिलो पटक कप्तानी सम्हाल्दै साम्बाको सानदार प्रदर्शन

बिजमाण्डू
२०८२ असार १५ गते २०:४९ | Jun 29, 2025
सयौँ खेलमा नेपालको फराकिलो जित, पहिलो पटक कप्तानी सम्हाल्दै साम्बाको सानदार प्रदर्शन
नेपाली खेलाडीको गोल सेलिब्रेसन। तस्बिर: एनएसजेएफ

काठमाडौं। नेपाली फुटबल टोलीले लाओसमाथि प्रभावशाली जित निकालेको छ। एएफसी महिला एसियन कप अन्तर्गत समूह एफको खेलमा नेपालले लाओसलाई ९-० गोलको फराकिलो अन्तरले हराएको हो। चार दशकयता अन्तर्राष्ट्रिय फुटबल खेल्दै आएको नेपालको यो १००औँ खेल हो।

Tata
GBIME

उज्बेकिस्तानमा जारी समूहको पहिलो खेलमा नेपालको कप्तानी पहिलोपटक सावित्रा भण्डारी (साम्बा)ले गरिन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले सुरुवाती ११ मा रेनुका नगरकोटीलाई कप्तान बनाएर सार्वजनिक गरे पनि पछि सावित्राले कप्तानी आर्मब्याण्ड लगाइन्।

नेपाली टोलीले पहिलो हाफमा दुई गोलले अग्रता बनाएको थियो। खेलको १२ औँ मिनेटमा अनिता बस्नेतको गोलमा अग्रता बनाएको नेपालका लागि दोस्रो गोल सावित्राले ४४ औँ मिनेटमा गरिन्।

त्यस्तै, नेपालका लागि ५० औँ खेल खेलेकी सरु लिम्बूले ४७औँ मिनेटमा गोल गर्दा सावित्राले ५५ मिनेटमा गोल थपिन। नेपालका लागि पाँचौँ गोल रश्मी कुमारी घिसिङले ५६औँ मिनेटमा गोल थपिन्। त्यसपछि सावित्राले ह्याट्रिक गोल पूरा गरिन्। लगत्तै उनैले अर्को गोल थपिन्।

सब्सिच्युड खेलाडीका रुपमा मैदान प्रवेश गरेकी अनिता केसीले ८३औँ मिनेटमा गोल गर्दा ८८औँ मिनेटमा साम्बाको प्रहार लाओसका डिफेन्डरलाई लाग्दै गोल भएको थियो।

नेपालले दोस्रो खेलमा बुधबार श्रीलंका र शनिबार उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। समूह विजेता टोलीले एएफसी महिला एसिया कपमा स्थान बनाउने छन्।