
काठमाडौं। धान चामलको आयातमा लाग्दै आएको अग्रिम कर खारेज भए पनि चामलको भाउ भने नघट्ने भएको छ। सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत २.५ प्रतिशत अग्रिम कर खारेज गरेको थियो।
अग्रिम कर खारेज भए पनि हालसम्म उद्योगीले भाउ घटाएर बिक्री गरेका छैनन्। गत महिनासम्म बोरामा १५० रुपैयाँसम्म भाउ घट्ने भनिएको थियो।
चालु आर्थिक वर्षको बजेटमा सरकारले अग्रिम कर लगाएको थियो। त्यसपछि चामलको भाउ बोरामा १०० रुपैयाँ बढेको नेपाल चामल, तेल, दाल उद्योग संघले पत्रकार सम्मेलन गरी जानकारी गराएको थियो।
तर, यतिबेला धान चामलको अग्रिम कर खारेज हुँदा पनि बजारमा उद्योगीहरूले भाउ नघट्ने बताएका छन्।
पछिल्लो समय बजारमा चामलको खपत कम छ। बजारको मागभन्दा आपूर्ति धेरै रहेको व्यवसायीले बताएका छन्। असार पहिलो साता बोरामा १५० रुपैयाँ बढेयता चामलको भाउ घटबढ भएको छैन।
सामाखुसीस्थित गोर्खाली किराना स्टोरका संचालक कृष्ण भट्टले चामलको भाउ पुरानै मूल्यमा बिक्री भइरहेको बताए।
‘बजेटपछि भाउ घटेर आएको छैन,’ उनले भने, ‘जिरा मसिनो चामलको भाउ २५ केजीको २०५० रुपैयाँदेखि २१५० रुपैयाँ छ। हाल कायम रहेको मूल्य बजेट अघिकै हो।’
त्यस्तै, राधाकृष्ण राइस मिल्का संचालक विभोर अग्रवालले चामलको भाउ घट्ने सम्भावना नरहेको बताए। धान आयातमा कृषि सुधार शुल्क हटाएमात्र बजारमा चामलको भाउ घट्ने अग्रवाल बताउँन्।
‘धानको कृषि सुधार शुल्क ५ प्रतिशत र चामलको ९ प्रतिशत छ। बजारमा चामलको आयात धेरै हुन्छ। किनकी धान आयात गरेर चामल उत्पादन गर्ने उद्योगलाई प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ,’ उनले भने।
त्यस्तै, चितवनको दिनेश खाद्य उद्योग प्रालिका संचालक पशुपति डल्लाकोटीले पनि चामलको भाउ नघट्ने बताए।
‘सरकारले धानमा लगाएको कर हटाएर चामल आयातमा कर बढाउनु पर्थ्यो,’ उनले भने, ‘तर, अहिले धान र चामलमा लागेको अग्रिम कर हट्दा स्वदेशी उद्योग चल्न मुस्किल छ। पोहोर चामल धेरै थियो। आयात कम थियो। अहिले आयात धेरै हुँदा उद्योगको चामल बिक्री नहुने भएकाले उद्योग पूर्ण रुपमा चल्न सक्दैन।
भारतबाट चामलको आयात बढ्दा स्वदेशी उत्पादन बिक्री नहुने भन्दै उनले चामलको भाउ घट्न नघट्ने यकिन नभएको बताए।
११ महिनामा भित्रियो ३८ अर्बको धान चामल
गत वर्षको तुलनामा नेपालमा धान चामलको आयात ८५ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको ११ महिनामा मात्रै करिब ३७ अर्ब ४९ करोड रुपैयाँको धान चामल आयात भएको हो।
गत वर्ष सोही समयमा करिब २० अर्ब २४ करोड रुपैयाँको धान चामल आयात भएको थियो। करिब २० अर्बको धानमात्र आयात भएको छ। १८ अर्ब बराबरको चामल आयात भएको छ।
गत वर्ष सोही अवधिमा साढे ११ अर्बको धान र ८ अर्बको चामल आयात भएको थियो। गत वर्ष भारतले चामलमा निर्यात शुल्क लगाएको थियो। पछि निर्यात हुल्क हटाएपछि धान चामलको आयात बढ्न थालेको छ।