भिजिट भिसा प्रकरण छानबिनका लागि सरकारले बनायो समिति, संयोजकमा शंकरदास बैरागी

बिजमाण्डू
२०८२ असार ९ गते २२:२३ | Jun 23, 2025
भिजिट भिसा प्रकरण छानबिनका लागि सरकारले बनायो समिति, संयोजकमा शंकरदास बैरागी

काठमाडौं। प्रतिपक्षी दलहरुसँगको सहमति अनुसार सरकारले भिजिट भिसा प्रकरणको छानबिनका लागि समिति बनाएको छ।

Tata
GBIME

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व मुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

मंगलबारको प्रतिनिधि सभा बैठकमा समिति गठनको जानकारी गराइने पनि ती मन्त्रीले बताए।

विभिन्न मन्त्रालयका सचिवहरुलाई सदस्यका रुपमा राख्ने पनि निर्णय भएको छ। सत्तापक्ष र प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) सँग भएको दुई बुँदे सहमति अनुसार समिति गठन भएको हो।

विपक्षी दलहरुमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने हाल पनि सदन अवरोधकै अवस्थामा छ। समितिको कार्यादेश तथा समयावधि लगायतका विषय पनि सोमबारको बैठकमै प्रस्तुत गरिने ती मन्त्रीले बताए।

‘भोली सदनमा यसबारेमा विस्तृत जानकारी हुन्छ। समिति बनाउने निर्णयमा पुगेका छौं,’ उनले भने।