
काठमाडौं। भटमास तेलको निर्यात हालसम्मकै उच्च भएको छ। चालु आर्थिक वर्ष ११ महिनामा ९३ अर्ब ५१ करोड ७१ लाख रुपैयाँको भटमास तेल निर्यात भएको छ। त्यसमध्ये १४ अर्ब ७६ करोड रुपैयाँ बराबरको भटमासको तेल जेठ महिनामा निर्यात गरिएको हो।
११ महिनामा भएको कुल निर्यातमा भटमास तेलको हिस्सा ३७.७७ प्रतिशत छ। यो आर्थिक वर्ष नेपालबाट कुल २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ।
गत आर्थिक वर्ष ११ महिनामा भटमास तेल जम्मा ८७ करोड ५२ लाख रुपैयाँको निर्यात भएको थियो।
सूर्यमुखी तेलको निर्यात पनि बढेको छ। यो आर्थिक वर्ष जेठसम्म ११ अर्ब ३३ करोड ८९ लाख रुपैयाँको सूर्यमुखी तेल निर्यात भएको छ। गत वर्ष ११ महिनामा सूर्यमुखी तेल १६ करोड रुपैयाँको मात्र निर्यात भएको थियो।
व्यवसायीहरुले विदेशबाट कच्चा पदार्थ आयात गरी नेपालमा प्रशोधन गरेर भटमास र सूर्यमुखी तेलको निर्यात गर्दै आएका छन्।
व्यवसायीले यो वर्ष जेठ मसान्तसम्ममा ९५ अर्ब ७२ करोड ६१ लाख रुपैयाँको ६३ करोड लिटर क्रुड भटमास तेल र २६ अर्ब ८७ करोड ८९ लाख रुपैयाँको १८ करोड २९ लाख लिटर क्रुड सूर्यमुखी तेल आयात गरेका छन्।
भारतले तेल आयातको भन्सार महसुल बढाउँदा त्यसको फाइदा नेपाली व्यवसायीले उठाएकामा भारतले महसुल घटाइसकेको छ। भारतले भन्सार महसुल घटाएका कारण व्यवसायीहरुले स्टक सकाउनका लागि सस्तो मूल्यमा बेचेका कारण पनि निर्यात बढेको सरकारी अधिकारीको बुझाइ छ।
व्यापार तथा निकासी प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक शरदबिक्रम राणाले भारतले तेल आयातमा महसुल कम गरेकाले आगामी दिनमा भटमास र सूर्यमूखी तेलको निर्यात घट्ने बताए।