रुपन्देही र मनाङमा कात्तिक दोस्रो साता उपनिर्वाचन गर्न सरकारलाई निर्वाचन आयोगको सुझाव

बिजमाण्डू
२०८२ असार ६ गते १४:३८ | Jun 20, 2025
रुपन्देही र मनाङमा कात्तिक दोस्रो साता उपनिर्वाचन गर्न सरकारलाई निर्वाचन आयोगको सुझाव
प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोगका पदाधिकारी

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभामा रिक्त स्थानका लागि कात्तिक दोस्रो साता उपनिर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ।

Tata
GBIME

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा आयोगका पदाधिकारीले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कात्तिक दोस्रो साता उपनिर्वाचन गर्न सुझाव दिएका हुन्।

प्रतिनिधि सभाका सदस्यतर्फ रुपन्देही क्षेत्र ३ र गण्डकी प्रदेश सभातर्फ मनाङ क्षेत्र नं १ (२) अहिले रिक्त छ। रुपन्देही क्षेत्र ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दीपक बोहराको गत चैत १९ गते निधन भएको थियो भने मनाङ क्षेत्र नं १ (२) निर्वाचित राजिव गुरुङ अर्थात दीपक मनाङेको पद असार ४ गते सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलाका कारण गएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको रिक्त दुई स्थान, राष्ट्रिय सभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहको रिक्त स्थानमा निर्वाचन गर्ने सन्दर्भमा आज परामर्श गरेको छ।

यसबाहेक स्थानीय तहमा १३ वडाध्यक्षको पद रिक्त छ। आयोगले राष्ट्रिय सभामा आगामी फागुन २० गते रिक्त हुने १८ सदस्य पदका लागि निर्वाचन तय गर्ने विषयमा छलफल पनि प्रधानमन्त्रीसँग छलफल गरेको छ।

आयोगको सिफारिसका आधारमा सरकारले निर्वाचन र उपनिर्वाचनको मिति तोक्ने कानुनी व्यवस्था छ।