
काठमाडौं। सूर्य नेपाल गल्फ टूर २०२४-२५ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर गल्फर राहुल विश्वकर्माले जितेका छन्। बिहीबार गोकर्ण गल्फ क्लबलमा सम्पन्न च्याम्पियनसिपमा समग्रमा २१ अन्डर २ सय ६७ को स्कोरमा उनी च्याम्पियन बनेका हुन्।
यसक्रममा राहुलले नेपाल नम्बर एक प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई २ स्ट्रोकले पछि पारे। राहुलको यो सिजनको दोस्रो उपाधि हो। यसअघि उनले सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन जितेका थिए।
समग्रमा १९-अन्डर २ सय ६९ को स्कोरमा भुवन नगरकोटी दोस्रो भए। प्रोतर्फ पहिलो भएका उनले अन्तिम प्रतियोगिताबाट नगद ३ लाख रुपैयाँ प्राप्त गरे।
गल्फ टूर २०२४-२५ को सर्वाधिक रकम भने धरानका प्रो निरज तामाङले हात पारे। उनले पहिलो सेन्ट्रल ओपनबाट ८७ हजार ५ सय, दोस्रो काठमाडौं ओपनबाट १ लाख २५ हजार, तेस्रो इस्टन ओपन र चौथो वेस्टन ओपनबाट समान १ लाख ५० हजार, पाँचौँ एनजीएए टुरबाट १ लाख हात पारेका थिए। त्यस्तै, छैटौं एनजीपीए म्याच पीबाट ६० हजार, सातौँ सूर्य नेपाल च्यालेन्जबाट ७० हजार र अन्तिम प्रिमियर च्याम्पियनसिपबाट १ लाख २५ हजार गरी कुल ८ लाख ६७ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गरे। योसँगै उनी नेपाल नम्बर १ खेलाडीसमेत बनेका छन्।
आज सम्पन्न प्रतियोगिता प्रिमियर च्याम्पियनसिपमा प्रोतर्फ माथि रहँदै ३ लाख पुरस्कार पाएका नगरकोटी यो सिजन दोस्रो धेरै कमाउने खेलाडी बने। अर्डर अफ मेरिटमा पहिलो भएका उनले समग्रमा ६ लाख ६४ हजार ५ सय रुपैयाँ हात पारे।