अर्थमन्त्री पौडेललाई प्रकाश ज्वालाको प्रश्न- बजेट दुरुपयोगको योभन्दा नांगो नमुना के हुन्छ?

बिजमाण्डू
२०८२ असार २ गते १४:१० | Jun 16, 2025
अर्थमन्त्री पौडेललाई प्रकाश ज्वालाको प्रश्न- बजेट दुरुपयोगको योभन्दा नांगो नमुना के हुन्छ?

काठमाडौं। नेकपा एकीकृत समाजवादीका सांसद एवं पूर्वमन्त्री प्रकाश ज्वालाले बजेटलाई लिएर अर्थमन्त्री विष्णु पौडेलसँग प्रश्नै प्रश्न गरेका छन्।

Tata
GBIME

उनले सोमबार प्रतिनिधि सभाको बैठकमा बजेटको सैद्धान्तिक छलफलमा भाग लिंदै ‘बजेट दुरुपयोगको योभन्दा नांगो नमुना के हुन्छ?’ भनी प्रश्न गरे।

‘कुनै प्रक्रिया पूरा नगरेका योजना छन्। मन्त्रीका आसेपासे, दलाल र बिचौलियाले बजेटमा हालीमुहाली गरेका छन्। मन्त्रीहरुले एकलौटी कब्जा गरेको देखिन्छ। नेताका बा आमा र जनसंगठनका कार्यालय बनाउन अर्बौं रुपैयाँ बाँडिएको छ। जबकि जनता आधारभूत आवश्यकताबाट वञ्चित छन्,’ उनले भने, ‘अर्थमन्त्रीज्यूलाई प्रश्न गर्न चाहन्छु, बजेट दुरुपयोगको यो भन्दा नांगो नमुना के हुन्छ?’

उनले बजेट बनाउँदा नै ठूलोअनियमितता भएको आशंका गरे। ‘केन्द्रमा ३ करोडभन्दा मुनिका योजना मात्र छान्ने मापदण्डको धज्जी उडाइएको छ। बजेट छरपस्टरुपमा वितरण गरिएको छ। बजेट बनाउँदा नै ठूलो अनियमितताको गन्ध आउँछ,’ उनले भने, ‘अर्थमन्त्रीलाई प्रश्न, के देश निश्चित जिल्ला झापा, रुपन्देही र काठमाडौंको मात्र हो। के यही हो बजेटमा सुशासन?’

पूर्वमन्त्री ज्वालाले बजेटमा नयाँ भिजन र जनतामा आशा जगाउने एउटै कार्यक्रम नरहेको बताए। ‘बजेट अर्थ राजनीतिक दस्तावेज हो। तर नयाँ भिजन छैन। बजेटले समृद्धिको मार्गचित्र दिन सकेन, जनतामा आशा जगाउन सकेन। बिचौलिया र आयात व्यापारी खुशी हुने, जनता दु:खी हुने बजेट छ। भुइँमान्छेलाई बिर्सिएको छ।’