काठमाडौंमा वन जंगल एडभेन्चर : रोलर कोष्टर, क्लाइमिङ वाल र मौलिक नेपाली घर

बिजमाण्डू
२०८२ असार २ गते १२:०२ | Jun 16, 2025
काठमाडौंमा वन जंगल एडभेन्चर : रोलर कोष्टर, क्लाइमिङ वाल र मौलिक नेपाली घर

काठमाडौं। साहसिक पर्यटनमा रूचि राख्नेहरुको संख्या बढ्दा उनीहरुलाई काठमाडौंभित्रै मनोरञ्जन दिने व्यवसायमा लगानी सुरु भएको छ। जीपलाइन, रक क्लाइमिङ र बन्जी जम्प गर्न चाहनेलाई ध्यानमा राख्दै सञ्चालनमा आएको तारकेश्वर-३ स्थित ‘वनजंगल एडभेञ्चर’ मा रमाउन पुग्नेको संख्या बढ्दै छ।

Tata
GBIME

काठमाडौं रिङरोड बाइपासदेखि १० किलोमिटर भित्र ककनी राजमार्गमा पर्ने पाँचमानेमा साहसिक पर्यटनको प्याकेजसहित ‘वनजंगल एडभेञ्चर’ सञ्चालन भइरहेको हो। ६ करोड लगानीको एडभेञ्चरमा वर्षदिन लगाएर पूर्वाधार तयार भएको सञ्चालक एलिसा ढकालले बताइन। पाहुनाले यहाँ साहसिक पर्यटनको अनुभवसँगै हरियाली वातावरणसहितको प्राकृतिक आनन्द पाउने उनले जानकारी दिइन।

‘आठ महिना भयो हामीले यो एडभेञ्चर सञ्चालनमा ल्याएको,’ सञ्चालक ढकालले भनिन्, ‘काठमाडौं भित्रका र साहसिक पर्यटनमा रूचि राख्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिइरहेका छौं।’ काठमाडौंमा बसेर नजिकै कतै साहसिक खेलमा रमाउन चाहनेहरु आइरहेको उनले बताइन।

उनका अनुसार हिजोआज साहसिक पर्यटनको प्याकेज बनाएर घुम्न निस्कनेको संख्या बढिरहेको छ। त्यस्ता आन्तरिक पर्यटकले समयको बचतसँगै जंगलभित्र एडभेन्चर अनुभव गर्न पाउँदा आगमन दर बढिरहेको जानकारी उनले दिइन।

उनका अनुसार ३० रोपनीमा फैलिएको वनजंगल एडभेञ्चरमा सेवाग्राहीले जीपलाइन, रोलर कोष्टर, क्लाइमिङ वाल, अब्स्ट्रयाकल कोर्स, हाइ रोप कोर्स, किड्स एडभेन्चर्स कोर्स, जीप लाइन ट्रीप, टप एडभेन्चर र जाइन्ट स्वीङको अनुभव लिन पाउँछन्।

साहसिक पर्यटनका लागि नेपालमै पहिलोपटक रोलर कोष्टरको अनुभव लिन पाउने सञ्चालक ढकालले जानकारी दिइन्। उनका अनुसार यसमा फलाममा चक्का राखी बाँधेर छोड्ने गरिन्छ। पर्यटकले एक मिनेटसम्म फलामको डण्डामा घुमेर मनोरञ्जन लिन सक्ने छन्।

यहाँ आउनेहरूले मनोरञ्जन मात्र नभइ रात पनि बिताउन सक्छन्। टेन्ट र मौलिक नेपाली घरमा बसेर फरक अनुभूति गर्न सक्ने बनाइएको छ। एडभेन्चरमा ११ टेन्ट र एउटा मौलिक डिजाइनको घर छ। जंगलभित्र बसेर फायरिङ तथा मनोरञ्जन गर्न चाहनेलाई यस खालेको व्यवस्था गरिएको उनले उल्लेख गरिन्।

‘सहरमा धेरैले गाउँ-गाउँमा हुने पुराना शैलीका देखेका छैनन्,’ उनी भन्छिन,’हिजोआज काठमाडौंमा बसोबास गर्नेले पुराना ढाँचाका नेपाली घर देखेका छैनन्। तिनकै लागि भए पनि यहाँ मौलिक घर राखिएको छ। यहीँ सुतेर बसेर आनन्द लिन पाउँनेछन्।’

मौलिकता हराइरहेको बेला वनजंगल एडभेन्चरले नेपाली घर देखाउन सक्नु विशेषता बनेको ढकाल बताउँछिन्। मौलिक घरमा ढिकी, जाँतो, हलो तथा कृषकले प्रयोग गर्ने सामग्री देख्न पाइन्छ। गाउँघरमा गाईवस्तु, खसी तथा कुखुरा राख्न गोठ बनाइन्थ्यो। यहाँ एकसाथ ठूला-ठूला जनावर मात्र नभइ साना-साना जनावर राख्न मिल्ने गोठ तथा खोर बनाइएको छ। यहाँ आउनेले एकसाथ मौलिक घरका साथै गोठ लगायतका अन्य भौतिक वस्तुको अवलोकन गर्न पाउँछन्।

‘यस्ता पुराना शैलीका घर तथा गोठ अहिलेका नयाँ पुस्ता अझ भनौं बालबालिकालाई लक्षित गरेर बनाइएको हो,’ उनी अगाडि थप्छिन,’यहाँ आउनेले मनोरञ्जन मात्र नभइ केही सिकेर जानकारी लिएर जाउन भन्ने मनसाय हो। हामीले अहिलेसम्म कसैले नभोगेको अनुभव र नदेखेका वस्तुहरू देखाउँने छौं।’

विद्यालयका विद्यार्थी, परिवार र संघसंस्थाका मानिसहरूको बढी भीडभाड हुने गरेको उनले बताइन। विशेषत: यहाँ शुक्रबार र शनिबार आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ। जंगलकै छेउमा रोजाइमा पर्नुको कारण पछिल्लो समय सहरको कोलाहलबाट टाढा निस्कन तथा हाइकिङ जान खोज्नेको संख्यालाई ध्यानमा राखिएको उनले प्रष्ट्याइन।

यहाँ पाहुनाले ३६५ साइक्लिङ तथा पैदल घुमघाम गर्न पनि सक्नेछन्। यस क्षेत्रको भौतिक पूर्वाधार निर्माण गर्न एक वर्ष लागेको ढकालले जानकारी दिइन्। यहाँको डिजाइन भारतीय कम्पनी अक्सो कन्सल्टेन्सीले गरेको हो। सबै पूर्वाधारहरू पूर्ण रुपमा इन्जिनियरिङ गरेर बनाइएको उनको भनाइ छ।

‘वन जंगल एडभेन्चरको विशेषता भनेको साहसिक पर्यटन हो। यहाँ भएका अधिकांश खेलहरू खेलाउन पर्यटन विभागबाट अनुमति लिएका छौं,’ उनले अगाडि थपिन्, ’साहसिक खेलमा सहभागी हुने प्रत्येक खेलाडीको बीमा गरिएको हुन्छ।‘

उनका अनुसार जंगलको बीचमा भएको एडभेन्चरमा पूर्वाधार थप्न लगानीमा सम्झौता नगरेको उनले बताइन। आफ्नै जग्गामा पर्यटकीय पूर्वाधार निर्माण गरिएको बताएकी ढकालले भनिन्, ‘विस्तारै-विस्तारै नयाँ खेलहरु थप्दै जाने योजना छ। हामी कस्टमर रेस्पोन्स कस्तो रहन्छ, केके माग गर्छन्, त्यहीअनुसार साहसिक खेल थप्दै जान्छौं।’