
काठमाडौं। सभामुख देवराज घिमिरेले सरकारसँग संवादका लागि आवश्यक सहजीकरण गर्ने भन्दै संसद् अवरोधबाट पछि हट्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आग्रह गरेका छन्।
उनले सोमबार बिहान रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र प्रमुख सचेतक सन्तोष परियारलाई आफ्नो निवासमा बोलाएर छलफल गरी बजेटमाथिको छलफलमा अवरोध नगर्न आग्रह गरे।
‘विपक्षीले उठाएका मुद्दा गम्भीर छन्। त्यही भएर सहमतिका लागि दुई सातासम्म संसद् रोकेको हुँ। अब रोक्ने अवस्था छैन,’ उनले भने, ‘तपाइँहरु आफ्नो आन्दोलनको स्वरुप बदल्नुस्। सरकारसँग संवादका लागि आवश्यक सहजीकरण गर्छु।’
सभामुखले संसद्को नेतृत्वका हिसाबले आफूले संवैधानिक सीमालाई पनि ख्याल गर्नुपर्ने बताएको उनको सचिवालयले जनाएको छ।
रास्वपाका कार्यबाहक सभापति अर्याल र प्रमुख सचेतक परियारले भने आफूहरुले उठाएका माग गम्भीर भएको बताए।
‘जनताको वास्तविक समस्या उठाएका छौं। हाम्रा माग र मुद्दामा सरकार गम्भीर भएन। त्यसैले संसद् अवरोध गर्न बाध्य भएका हौं। सरकारले माग सम्बोधन गर्न सहमति नजनाएको अवस्थामा अवरोध जारी रहन्छ,’ अर्यालले भने।