कर्णालीमा ‘लेट नाइट ड्रामा’ : मन्त्रीले राति १२ बजे प्रस्तुत गरे ३२ अर्बको बजेट

बिजमाण्डू
२०८२ असार २ गते ०७:०८ | Jun 16, 2025
कर्णालीमा ‘लेट नाइट ड्रामा’ : मन्त्रीले राति १२ बजे प्रस्तुत गरे ३२ अर्बको बजेट

कर्णाली । कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार बराबरको बजेट ल्याएको छ। यो चालु आर्थिक वर्षको बजेटभन्दा करिब पाँच प्रतिशत बढी हो।

Tata
GBIME

आइतबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक प्रतिपक्षी दल र सरकारबीच सहमति हुन नसक्दा सुरु हुन सकेको थिएन।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले आयोजना बैंक नै सार्वजनिक नगरेर सरकारले एकलौटी तरिकाले आफूखुसी बजेट ल्याउनु लागेको भन्दै बैठक बस्न नसक्ने अडान राखेको थियो। करिब १० घण्टाको छलफलपछि प्रतिपक्षी दल र सरकारबीच सहमति जुटेपछि मध्य राति १२ बजेबाट बैठक सुरु भएको थियो।

बैठकमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीबविक्रम शाहले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गरेका थिए। कूल विनियोजनमध्ये चालुतर्फ रु सात अर्ब ७९ करोड ९१ लाख एक हजार अर्थात् २३.६४ प्रतिशत रहेको छ। पुँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार अर्थात् कूल विनियोजनको ६०.५५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ६१ करोड ५० लाख अर्थात् कूल विनियोजनको १.६६ प्रतिशत बजेट छुट्याइएको छ।

स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ चार अर्ब ५९ करोड ९८ लाख ४१ हजार अर्थात् १३.९५ प्रतिशत विनियोजन गरिएको छ। उक्त बजेटको स्रोतमध्ये आन्तरिक आयबाट ९६ करोड ७४ लाख ११ हजार, चालु आर्थिक वर्ष खर्च हुन नसकी बचत हुने बजेटबाट पाँच अर्ब ६९ करोड ६८ लाख ४४ हजार र संघीय सरकारबाट राजस्व बाँडफाँटबाट जाने १० अर्ब २७ करोड ३० लाख स्रोत व्यहोर्ने अनुमान गरिएको छ।

वित्तीय समानीकरण अनुदानबाट १० अर्ब ५६ करोड चार लाख, सशर्त अनुदानबाट चार अर्ब ४४ करोड ६० लाख, समपुरक अनुदानबाट ५३ करोड ९७ लाख र विशेष अनुदानबाट ४९ करोड ४६ लाख स्रोत परिचालन गरिने अनुमान छ। रासस