
काठमाडौं। दरबारमार्गस्थित अमेरिकन फ्रेन्चाइज हार्ड रक क्याफेले ५४ औं स्थापना दिवस मनाएको छ। शनिबार एक कार्यक्रम आयोजना गरी क्याफेले काठमाडौंमा स्थापना दिवस मनाएको हो।
उक्त फ्रेञ्चाइजअन्तर्गत विश्वभरका १७० भन्दा बढी क्याफेहरूले एकैपटक उत्सव मनाएका हुन्। सोही अवसर पारेर क्याफेले दरबारमार्गमा नेपाली स्वाद अनुसार छोयला बर्गर लन्चिङ गरेको क्याफेका महाप्रबन्धक नारायणप्रसाद सुवेदीले बताए।
उनका अनुसार हरेक क्याफेले सहरका स्थानीय स्वाद अनुसार आ-आफ्नो बर्गर लन्चिङ गर्दैछन्। काठमाडौंको हार्ड रकले छोयला बर्गर लन्चिङ गरेको हो। छोयला बर्गर क्याफेमा सेफ विप्लव महर्जनले प्रदर्शनको अगुवाइ गरेका हुन्।
‘गत वर्षको जन्मोत्सवमा पनि यसैगरी बर्गर लन्चिङ गरेका थियौं। काठमाडौं बर्गर लन्चिङ गरेका थियौं, जो विश्वभर उत्कृष्ट पाँचौंमा परेको थियो,’ सुवेदीले भने ,’हामीले खानामात्र नभइ नेपालको पर्यटन क्षेत्रमा पनि योगदान गरिरहेका छौं।’
हार्ड रक क्याफेको सोभिनियर सप पनि छ। हार्ड रकको पाटनमा रहेको सोभिनियर सपमा टीसर्ट, मग र ग्लास पाइने सुवेदीले जानकारी दिए। ठमेलमा पनि सोभिनियर सप खोल्ने योजना छ। हार्ड रक क्याफे पोखरा सुरू गर्न लागेको उनले बताए।
उनका अनुसार वीकेन्डमा सांगीतिक कार्यक्रम रहने क्याफेले अन्तर्रराष्ट्रियस्तर अनुसार खानाको सेवा दिइरहेको छ। क्याफेमा शुक्रबार र शनिबार बढी भीड हुने गरेको छ। शनिबारको काठमाडौंको कार्यक्रममा डेनमार्कका वाणिज्यदूत हरि धरेल, सेफ गोविन्द नरसिंह केसी लगायतको उपस्थिति थियो। काठमाडौंमा हार्डरक सन् २०२१ नोभेम्बरमा खुलेको हो।