
काठमाडौं। खपतमा कमी आएपछि उपत्यकामा ब्रोइलर कुखुराको मासुको भाउ सस्तिदै गएको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले बुधबारदेखि लागु हुनेगरि नयाँ मूल्य कायम गरेको छ।
संघका अनुसार जिउँदो ब्रोइलर कुखुरा १० रुपैयाँ घट्दै प्रति केजी २२० रुपैयाँ भएको छ। यसअघि कारोबार मूल्य प्रति केजी २३० रुपैयाँ थियो। उपभोक्ताले फ्रेस कुखुराको मासु प्रति केजी ३ सय रुपैयाँदेखि खरिद गर्न सक्ने व्यवसायी बताउँछन्।
जेठ दोस्रो साता जिउँदो कुखुराको मूल्य संघले १० रुपैयाँ घटाएर प्रति केजी २५० तोकेको थियो। पछिल्लो पटक त्यसमा पनि घटेको थियो। संघका अनुसार बजारमा आपूर्ति नियमित छ। गर्मी सिजन सुरु भएपछि मासुको खपतमा कमी आएको छ। सँगै भाउ लगातार घटेको संघका अध्यक्ष जंगबहादुर वीसीले बताए। ‘गर्मीसँगै मासुको खपत घट्यो, माग उच्च नभएकाले भाउ घटेको हो,’ उनले भने।
उत्पादन परिमाण भने तुलनात्मक रुपमा उच्च नभएको उनले बताए। ‘आँपको सिजनमा बर्सेनि मासुको माग घट्छ, माग घटेपछि भाउ बढाए बिक्री बढ्ने होइन,’ उनले भने, ‘कुखुरा मासुको धेरै भएर भाउ घटेको होइन, माग घटेको असर बिक्री मूल्यमा परेको हो।’ पहिलेभन्दा मासुको खपत १५ देखि २० प्रतिशत घटेको उनले बताए।
जिउँदो कुखुरा र तयारी मासुको कारोबार मूल्य घटेको असर डेढदेखि दुई महिनामा देखिने व्यवसायी बताउँछन्। भाउ घट्न थालेपछि किसान र पोल्ट्री फर्महरुले खोरमा हाल्ने चल्लाको परिमाण घटाउँछन्। ४०/४२ दिनमा बिक्रीका लागि तयार हुने कुखुराको परिमाण घटेपछि बजार मागका तुलनामा आपूर्ति कम हुन थाल्छ। त्यसपछि भने भाउ बढ्ने उनीहरु बताउँछन्।
यसपटक गत वैशाखयता नै बजार माग सुस्त छ। कोल्ड स्टोरहरुको अपेक्षाअनुसार कारोबारले गति लिन सकेको छैन।