
काठमाडौं। यो फलको राजा भनिने आँपको सिजन हो। देशभरका बजारमा अहिले आँपको माग छ। उपत्यकामा पनि तराईसँगै भारतीय आँप आइपुगेको छ। गत चैतदेखि नै बजारमा आउन थालेको आँप यतिबेला छेलोखेलो छ। आपूर्ति बढेसँगै विस्तारै आँप सस्तिएको छ। मिठो र स्वस्थकर आँप खोज्ने उपभोक्ता विषादीका विषयमा सशंकित भेटिएका छन्।
गत सातादेखि बजारमा विषादीयुक्त आँप पाइन थालेको भन्दै केही उपभोक्ता त्रसित पनि छन्। विषादीको मात्रा अत्यधिक पाइएपछि गत साता धनगढी र इटहरीमा जफत गर्दै आँप नष्ट गरिएको थियो। धनगढीमा २ हजार २६७ किलो र इटहरीमा ३ हजार किलो आँप नष्ट गरिएको थियो। धनगढी उपमहानगरपालिका र विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला अत्तरियाको टोलीले धनगढीका तीन वटा हाटबाट विषादीको मात्रा उच्च भएको आँप फेला पारेको थियो।
यस्तै, इटहरी उपमहानगरपालिकाको टोलीले व्यवसायीको गोदामबाट संकलित नमुनामा पकाउन प्रयोग भएको विषादीको मात्रा उच्च भएको फेला पारेको थियो। व्यवसायीले आँप स्वदेशी भन्ने दाबी गरे पनि कार्टुनमा आँप बेर्न राखिएका पत्रिका भारतीय थिए। त्यसैले उक्त आँप आयातित भएको निष्कर्ष अनुगमन टोलीको थियो। आँप पकाउन एटीसीलिन ग्यास प्रयोग गरेको खुलेको थियो।
पश्चिमको धनगढी र पूर्वको इटहरीका घटनाको खबरले उपत्यकाका उपभोक्तालाई सतर्क गराएको छ। यसले बजारमा बिक्री प्रभावित भइरहेको व्यवसायीले बताएका छन्। बजारमा दिनहुँ उल्लेख्य परिमाणमा आँप भित्रिएको छ। खपत भने व्यवसायीको अपेक्षाअनुसार उच्च हुन सकेको छैन। उपभोक्ता डराएका कारणले यस्तो भएको उनीहरुको विश्लेषण छ।
कस्तो आँप उपत्यकाको बजारमा आइरहेको छ? विषादीको मात्रा उच्च छैन? यसबारे सम्बद्ध निकायले दिने जवाफले उपभोक्ता आश्वस्त देखिएका छैनन्। कालीमाटीको थोक बजारमा आइपुग्ने फलफूल र तरकारीमा विषादीको मात्रा जाँच नियमित हुने गरेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उपत्यकामा यो सिजनमा गरिएका परीक्षणमा अहिलेसम्म आँपमा विषादीको मात्रा खान अयोग्य हुने तहको उच्च नभेटिएको जनाएको छ।
‘आयात भएको आँपमा त्यस्तो विषादी भेटिएकोबारे जानकारी आएको छैन। अनि उपत्यकामा विषादी प्रयोग भएको आँपको नमुना पनि भेटिएको छैन। उपभोक्ताले डराउनु पर्दैन।’

कुलेश्वर फलफूल बजारका अध्यक्ष अमर बानियाँ भन्छन्, ‘स्वदेशी आँपमा विषादी प्रयोग भएको छैन। परीक्षणले नभेटेको कुरामा हल्लाको पछाडि लागेर हुँदैन।’
काठमाडौं र पोखरामा भएका विषादी परीक्षणमा आँप अस्वस्थकर नपाइएको उनले बताए।
‘हरेक वर्ष नेपाली आँप बजारमा आउने बेलामा विषादीको अफवाह फैलिन्छ,’ उनले भने, ‘मान्छेहरु हल्लाका पछि लाग्छन्। हाम्रो व्यापारमै असर पर्छ।’ हल्लाले गर्दा कुलेश्वर बजारमा आँपको भाउ घटेर प्रति केजी ४० देखि ५० रुपैयाँ पर्न थालेको उनले बताए।
धेरैले विषादीबारे प्रश्न गर्न थालेपछि वाणिज्य विभागलाई अनुगमन गर्न बोलाए पनि टोली बजारमा नआएको उनले बताए।
‘काँचै टिपेर पकाउन राख्दा हाल्ने औषधिको मात्रा उच्च भए त्यो विषादी हो। तर, बजारमा कस्तो आएको छ भन्ने प्रयोगशालाले जाँच गर्नुपर्छ। हल्लाको पछि लागेर हुँदैन’, उनले भने। समय नपुगी टिपेर पठाउने जोसुकेले पकाउनका विषादी प्रयोग गर्ने उनले बताए। खान अयोग्य हुने मात्रा भेटिएका फलफूल भने बेच्न नहुने उनी बताउँछन्।
‘काँचो टिप्न दिनै भएन। टिपेर राखेको पनि पकाउनका लागि के गर्न सकिन्छ त्यो व्यवस्था गरिदिनुपर्छ, अनि मात्रै विषादीरहित बजारमा आउँछ,’ उनले भने। बजारमा नियमित अनुगमनको पनि खाँचो भएको उनले बताए।
यसो त सरकारले विश्व खाद्य स्वच्छता दिवस मनाइरहँदा उपभोक्ताले कति स्वस्थकर तरकारी र फलफूल उपभोग गरिरहेका छन् भन्नेमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र मातहतका कार्यालय चनाखो छैनन्। त्यसको ज्वलन्त उदाहरण हो बजार नियमित अनुगमन नहुनु।

केन्द्रीय कृषि प्रयोगशालाले कालिमाटी थोक बजारबाट गरिरहेको भनिएको हरेक दिनको जाँचमा फलफूल र तरकारीमा विषादीको प्रयोग नभएको देखाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जन भन्छन् ‘आयात भएको आँपमा त्यस्तो विषादी भेटिएकोबारे जानकारी आएको छैन। अनि उपत्यकामा विषादी प्रयोग भएको आँपको नमुना पनि भेटिएको छैन। उपभोक्ताले डराउनु पर्दैन।’
उनका अनुसार उपत्यका बाहिर विषादीको मात्रा उच्च भेटिएका घटनामा व्यापारीले काँचो आँप ल्याएर विषादी राखेर पकाएको हुन सक्ने अनुमान गरिएको छ। आयातित तरकारी र फलफूल भन्सारमा नमुना जाँच चेक भएर आउने जनाएको छ।
तरकारी फलफूल महासंघका अध्यक्ष भरत खतिवडा राम्रो भाउ पाउनका लागि समयभन्दा पहिले नै टिपेर बिक्री गर्दा यो समस्या हुने गरेको बताउँछन्। ‘आँपलाई प्राकृतिक रुपमा पाक्न नदिएर विषादी प्रयोग गरी छिटो बजारमा पठाउँछन्। समयभन्दा अघि टिपेपछि पाक्न समय लाग्छ, छिटो पकाउन औषधि हाल्ने कुरा जगजाहेर नै छ,’ उनले भने, ‘तर, विषादीको मात्रा उच्च भएका फलफूल बजारमा ल्याइनु हुँदैन।’
सरकारले फलफूलको जाँचलाई सतर्कतापूर्वक नियमित गरेमा बजारमा अस्वस्थकर आउन रोकिने उनको भनाइ छ। ‘आयात भएर आउनेलाई त झन् र्यापिड टेष्टको व्यवस्था हुनुपर्छ,’ उनले भने।
कुलेश्श्वर फलफूल बजार समितिका अनुसार सिजनमा दैनिक ८० देखि ९० लाख रुपैयाँ बराबरको आँपको कारोबार हुने गरेको छ। आँपको सिजन ३ महिना चल्छ। हाल बजारमा दैनिक करिब एक करोड रुपैयाँको आँप आइरहेको छ। स्वदेशी आँप बजारमा आउन थालेपछि भारतबाट आयात क्रमिक घटिसकेको छ।
फितलो परीक्षण
भारतबाट आयात गरिने तरकारी तथा फलफूलको नमूना परीक्षण फितलो देखिएको छ। विभागका एक कर्मचारीका अनुसार भन्सारमा रहेका विषादी प्रयोगशालामा व्यवसायीले नै तरकारी र फलफूलका नमूना ल्याएर परीक्षण गर्न दिने गरेका छन्।
‘एजेन्टले आफैं नमुना ल्याएर दिन्छन्, उनीहरुले आफ्नै गाडीबाट ल्याएका हुन् कि कहाँको हो भने थाहा हुँदैन,’ उनले भने, ‘त्यो नमुनामा परीक्षणबाट विषादी नभेटेपछि नभेटेकै रिपोर्ट आउँछ।’
पछिल्लो समय विभागले उपत्यकामा रातीको समयमा भित्रिएको फलफूल र तरकारी मोबाइल भ्यानमार्फत परीक्षण गरेर हेर्ने गरेको जनाएको छ। ‘तरकारीमा मात्र कहिलेकाही विषादीको मात्रा उच्च भेटिन्छ, नत्र खासै विषादी भेटिएको छैन,’ उनले भने।
गत साता धनगढीमा आँपमा विषादीको मात्रा उच्च फेला परेको थियो। उपभोक्ताको सूचनाका आधारमा अनुगमन गर्दा आँपमा विषादी पाइएको थियो। नष्ट गरिएको उक्त आँप आयातित रहेको विभागको धनगढी कार्यालयले जनाएको छ।
