
काठमाडौं। स्रोतमा चापका कारण चालु आर्थिक वर्ष विभिन्न शीर्षकमा खर्च हुन बाँकी रकम रोक्का गरेका अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष तिनै शीर्षकमा बजेट बढाएका छन्।
उनले यसपालि कर्मचारी तालिम, मेसिनरी तथा औजार, फर्निचर तथा फिक्स्चर र पुँजीगत परामर्शमा खर्च हुन बाँकी रकमको २५ प्रतिशत रोक्का गरेकामा आगामी आर्थिक वर्षका लागि भने ती शीर्षकमा बजेट थपेका हुन्।
मन्त्री पौडेलले गत माघ २७ गते आफैं पाँच शीर्षकमा खर्च हुन बाँकी रकमको २५ प्रतिशत बजेट रोक्काको निर्णय गरेका थिए।
चालु आर्थिक वर्ष कर्मचारी तालिमका लागि १ अर्ब ६२ करोड ३१ लाख विनियोजन गरिएकामा पौडेलले आगामी आर्थिक वर्षका लागि १ अर्ब ६७ करोड १७ लाख रुपैयाँ छुट्याएका छन्।
यस्तै मेसिनरी तथा औजार शीर्षकमा चालु वर्ष १४ अर्ब २३ करोड ८२ लाख रहेकामा आगामी आर्थिक वर्षका लागि १५ अर्ब ९७ करोड ४४ लाख रुपैयाँ विनियोजन गरिएको छ।
पौडेलले पुँजीगत परामर्श शीर्षकमा यो वर्ष ११ अर्ब ८९ करोड ७१ लाख रहेकामा अर्को वर्षका लागि १२ अर्ब ५२ करोड ६९ लाख र फर्निचर तथा फिक्स्चरमा १ अर्ब ३१ करोड २३ लाख रुपैयाँ छुट्याएका छन्। फर्निचर तथा फिक्स्चरमा यो वर्षका लागि १ अर्ब १९ करोड ८३ लाख रुपैयाँ छुट्याइएको थियो।
कार्यक्रम खर्च शीर्षकमा भने पौडेलले चालु वर्ष १४ अर्ब १० करोड २४ लाख रहेकामा आगामी वर्षका लागि ११ अर्ब ५७ करोड २३ लाख रुपैयाँ छुट्याएका छन्।