हेलिकप्टरका लागि क्यानको मनसुन सेड्युल जारी, १२ हजार फिट मुनी दुई पाइलट अनिवार्य

बिजमाण्डू
२०८२ जेठ १४ गते ०८:२७ | May 28, 2025
हेलिकप्टरका लागि क्यानको मनसुन सेड्युल जारी, १२ हजार फिट मुनी दुई पाइलट अनिवार्य

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हेलिकोप्टर कम्पनीका लागि मनसुन सेडुल जारी गरेको छ। प्राधिकरणले यो वर्षको मनसुन सिजनमा समुद्र सतहदेखि १२ हजार फिटसम्म उडान गर्ने हेलिकप्टरलाई दुई पाइलट अनिवार्य गरेको छ।

Tata
GBIME

विगतका वर्षमा सबै गन्तव्यमा कडाइ गरेको प्राधिकरण यो वर्ष हेलिकोप्टर उडान हुँदै आएको दुई वटा गन्तव्यमा लचिलो भएको छ। प्राधिकरणले हिल्सा र केरुङ उडानका लागि लचिलो निर्णय लिएको हो।  सामुद्रिक सतहबाट १२ हजार फिट उचाइभन्दा कम रहेका यी गन्तव्यमा भने दुई जना पाइलट अनिवार्य नगरिने उल्लेख छ।

‘हिल्सा र केरुङ बाहेक सामुद्रिक सतहबाट १२ हजार फिट मुनीका गन्तव्यतर्फको हेलिकप्टर उडानमा दुई पाइलट अनिवार्य हुनुपर्नेछ,’ क्यानले जारी गरेको निर्देशनमा उल्लेख छ।

समुद्र सतहबाट यी दुवै गन्तव्यको उचाइ १० हजार फिटभन्दा मुनी छ।

यसरी सीमित गन्तव्य लक्षित तयार गरिएको मापदण्ड उपयुक्त नभएको एक हेलिकप्टर कम्पनीका प्रतिनिधिले बताए। ‘हेलिकप्टर एक जना पाइलटले उडाउनुपर्ने हो। त्यसमा एक जना मात्रै हुनुपर्छ, अहिले दुई जना पाइलटको मापदण्ड दीर्घकालीन रुपमा ल्याउन खोजिएको बुझ्नमा आएको छ,’ उनले भने, ‘यसमा पनि केरुङ र हिल्साका लागि किन लचिलो बनाइयो भन्ने बुझ्न सकिएन।’

प्राधिकरणले स्वास्थ्य सामाग्री ढुवानी, उद्धार उडानसँगै केरुङ र हिल्सामा हुने उडानमा ‘डुअल पाइलट’ अनिवार्य गरिएको छैन।  प्राधिकरणले पाइलटको नियमित तालिम तालिका लिनका लागि १५ दिन अगाडि नै पत्राचार गर्न  निर्देशन दिएको छ।