
काठमाडौं। बदलिँदो जीवनयापनसँगै मानिसहरूको रुचि पनि फेरिएको छ। समयअनुसार दैनिक उपभोग्य बस्तुमा पनि ग्राहकको आकर्षण लक्जरियसतर्फ बढेको छ। ५ वर्षको अन्तरालमा बजारमा ३२ इन्चभन्दा कम साइजका टेलिभिजनको प्रयोग कम भएको छ।
घर, कार्यालय, स्कुल, कलेज लगायत क्षेत्रमै ४२ इन्चभन्दा माथिको टीभी राख्ने चलन बढ्दै गएको छ। बजारमा १४ इन्च, २४ इन्च, २८ इन्च र ३२ इन्चका टीभी कमै भेटिन्छन् आजभोलि।
केही वर्षअघि उपभोक्ताले घरको कोठा-कोठामा २४ देखि २८ इन्चको टीभी राख्थे। होटल रेष्टुरेन्टमा पनि ४२ इन्चभन्दा कम साइजको टीभी नै हुन्थ्यो।
पछिल्लो समय सबै क्षेत्रमा ४२, ५५ र ६५ इन्चका टेलिभिजनको प्रयोग हुन थालेको व्यवसायीले बताएका छन्। उपभोक्ताले चलेका ब्राण्डका स्मार्ट टेलिभिजन खरिद गरिरहेका छन्। जसमा सामसङ, एलजी, टीसीएल, सीजी, स्काइवर्थ, पानासोनिक, सोनी लगायत छन्। यसबाहेक अन्य चाइनिज ब्राण्डका टीभीहरू पनि बिक्री हुन्छन्।
सबैको घरमा एउटा टीभी अनिवार्य रुपमा हुने नै भएपनि सबैको हात-हातमा मोबाइल फोन भएपछि टीभी हेर्ने कमै हुन्छन्। तर पनि गाउँदेखि सहरसम्मै उपभोक्ताले ठूला स्क्रिनका टीभी राख्न थालेका छन्।
व्यवसायीका अनुसार डिसहोम आएपछि साना टीभीको प्रयोग कम भएको थियो। त्यसलगतै सहरदेखि गाउँसम्म इन्टरनेटको सेवा विस्तार भएपछि उपभोक्ताको रोजाइमा ठूलो टीभी पर्न थालेको छ।
भक्तपुरका इलेक्ट्रोनिक्स व्यवसायी रुकेश रन्जितले ग्राहकले ४२ इन्चदेखि माथिका टीभी खोज्ने गरेको बताए। पहिले जस्तो टीभीको माग भने नभएको उनको भनाइ छ।
‘केबल आएपछि कोठा-कोठामा टीभी राख्ने चलन सुरु भयो। अहिले डिसहोमले गर्दा छुटा-छुट्दै सेटअफ बक्स चाहिने भएपछि बैठक कोठामा मात्र टीभी राख्ने चलन बढेको छ। इन्टरनेट आएपछि पनि ग्राहकले घरमा एउटा राम्रो र ठूलो टीभी राख्ने गरेका छन्,’ उनले भने।

फिल्म र खेलकुद हेर्नका लागि ठूलो टीभी उपयुक्त हुने हुनाले साना टीभी छायाँमा पर्दै गएको उनले जानकारी दिए। होटलका कोठामा पनि ४२ इन्चका टीभी ट्रेन्ड जस्तै भएको उनको भनाइ छ।
सीजी इलेक्ट्रोनिक्सका बाण्ड म्यानेजर मुकेश बैठाले लाइफस्टाइलअनुसार ग्राहकको रुचि फेरिँदै गएको बताए।
‘अहिले नयाँ घर बनाएपछि त्यस्तै अनुसारको सामान राख्ने गरिन्छ,’ उनले भने, ‘बैठक कोठामा ठूलो टीभी राख्ने चलन बढ्दै गएको छ। ग्राहकको डिमाण्ड पहिलेको तुलनामा फेरिँदै गइरहेको छ।’
समयअनुसार अपडेट हुन र लामो समय टिक्ने घरायसी सामान खरिद गरिने भएकाले बजारमा ४२ इन्चभन्दा माथिको टीभीको माग रहेको उनले जानकारी दिए।
सरकारले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरूलाई बिनाभन्सार ३२ इन्च सम्मको टीभी ल्याउन छुट दिएको छ। त्योभन्दा ठूलो आकारको टीभी लिएर आए इन्चअनुसारको भन्सार शुल्क तिर्नुपर्ने हुन्छ।
यसले गर्दा यतिबेला वैदेशिक रोजगारीमा गएर आउनेले ३२ इन्चभन्दा बढीको टीभी ल्याउँदैनन्। यसकारण पनि पछिल्लो समय वैदेशिक रोजगारीमा गएकाहरूले टीभी ल्याउने क्रम हराउँदै गएको छ। ग्राहकले नेपालमै टीभी खरिद गर्ने गरेका छन्।
हाल बजारमा ७५ देखि ८५ इन्चसम्मका एचडी टीभी पनि उपलब्ध छन्। कम्पनीअनुसार ग्राहकले २४ इन्चदेखि ८५ इन्चका टीभीहरू १५ हजार रुपैयाँदेखि ६ लाख रुपैयाँभन्दा बढीका टीभी खरिद गर्न सक्छन्। टीभी आयात गत वर्षको तुलनामा बढेको छ। ४८ इन्चसम्मका कलर टीभीको आयात धेरै छ।
आर्थिक वर्ष २०८०/८१ र चालु आर्थिक वर्ष २०८१/८२ को आयात तथ्याङ्कमा पनि ४८ इन्चसम्मका कलर टेलिभिजन आयात बढेको देखिएको छ। जसमा आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ३२ करोड ५९ लाख रुपैयाँको ६६ हजार ७२५ वटा टेलिभिजन आयात भएको छ। चालु आर्थिक वर्ष ९ महिनामा १ अर्ब ९८ करोड ९६ लाख रुपैयाँको ६८ हजार ३२७ वटा टीभी आयात भएको छ।