
काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले रविभवनको चेरी वर्ल्ड कम्युनिकेसन प्रालिको इन्टरनेट लाइसेन्स खारेज गरेको छ।
प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखाले उक्त इन्टरनेट सेवा प्रदायकले लाइसेन्स नवीकरणका लागि तोकिएको समयावधिभित्र निवेदन नै पेस नगरेपछि वैशाख २९ गतेदेखि लाइसेन्स खारेज गरिदिएको हो।
चेरी वर्ल्डले प्राधिकरणबाट २०६७ वैशाख २९ गते इन्टरनेट सेवाको लाइसेन्स पाएको थियो। प्राधिकरणले लाइसेन्स खारेज भएको चेरी वर्ल्डले नियमानुसार तिर्नुपर्ने रकम ३० दिनभित्र चुक्ता गर्नसमेत मंगलबार ताकेता गरेको छ।
चेरी वर्ल्डको अनुमतिपत्र खारेजीमा परेसँगै अब प्राधिकरणबाट अनुमति पाउने इन्टरनेट सेवा प्रदायकको संख्या १०८ मा झरेको छ। यसअघि प्राधिकरणले गत चैत ८ गते म्याग्दीको नेपाल वायरलेसको लाइसेन्स खारेज गरेको थियो। यो कम्पनी राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको हो।