मस्कले भारतमा स्टारलिंकको अहिलेसम्मकै सस्तो प्याकेज ल्याउँदै, मासिक प्लान १० डलरदेखि

बिजमाण्डू
२०८२ जेठ १२ गते १७:२९ | May 26, 2025
मस्कले भारतमा स्टारलिंकको अहिलेसम्मकै सस्तो प्याकेज ल्याउँदै, मासिक प्लान १० डलरदेखि

काठमाडौं। अमेरिकी धनाढ्य इलन मस्कले भारतमा स्टारलिंकको अहिलेसम्मकै सस्तो प्याकेज ल्याउने भएका छन्। भारतको इन्टरनेट बजार छिर्न आतुर मस्कको कम्पनीले विश्वमै अहिलेसम्मकै सस्तो सेटलाइट इन्टरनेट प्लान ल्याउन लागेको हो।

Tata
GBIME

भारत सरकारबाट अनुमतिसहितका अन्य सबै नियामकीय मापदण्ड पूरा गरेसँगै मस्कको स्टारलिंकले सेटलाइट कम्युनिकेसन सेवा सुरुआत गर्ने अन्तिम चरणमा पुगेको छ।

स्टारलिंकले आफ्नो प्लान मासिक १० अमेरिकी डलर (करिब ८५० भारतीय रुपैयाँ)मा उपलब्ध गराउने रणनीति अघि सारेको छ। यो भनेको मासिक १३६० रुपैयाँ हाराहारी हो।

प्रमोसनल स्कीम भन्दै स्टारलिंकले सस्तो दरमा सेटलाइट इन्टरनेट सेवा भारतमा लञ्च गर्न लागेको छ। उक्त मूल्यमा अनलिमिटेड डेटा प्लान दिने स्टारलिंकको तयारी छ। प्रमोसनल स्कीमको बलमा मस्कको कम्पनी भारतमा जतिसक्दो चाँडो आफ्नो कस्टमर बेस १ करोड पुर्‍याउन चाहान्छ। जसका कारण स्टारलिंकको सञ्चालन लागत व्यवस्थापन गर्न सहज हुने आंकलन मस्कको छ।

मे महिनाको सुरुआतमा स्टारलिंकले भारतको दूरसञ्चार विभागबाट लेटर अफ इन्टेन्ट पाएको थियो। त्यसैको आधारमा स्टारलिंकले भारतमा सेटलाइट कम्युनिकेसन सेवा सञ्चालन गर्न पाउँदै छ।

भारतको दूरसञ्चार क्षेत्रको नियामक टेलिकम रेगुलेटरी अथोरिटी अफ इन्डिया (टीआरएआई)ले सहरी क्षेत्रका ग्राहकहरुलाई मासिक शुल्कमा थप ५०० भारतीय रुपैयाँ लिने प्रस्ताव भारतको केन्द्र सरकारलाई गरेको छ।

जसका कारण स्टारलिंकको सेवा सहरी क्षेत्रमा तारमा आधारित र वायरलेस ब्रोडब्यान्ड सेवाभन्दा महँगो पर्न जान्छ। यसले विद्यमान इन्टरनेट सेवा प्रदायकहरुको व्यापारमा असर नपर्ने बुझाइ टीआरएआईको छ।

इलन मस्क र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

सेटलाइट इन्टरनेट सेवा प्रदायकले व्यावसायिक सेवा प्रदान गर्नका लागि ८ प्रतिशत लाइसेन्स शुल्कको अतिरिक्त आम्दानी (एजीआर)को ४ प्रतिशत रकम तिर्नुपर्ने प्रस्ताव गरिएको छ। साथै प्रत्येक स्पेक्ट्रम ब्लकका लागि न्यूनतम वार्षिक शुल्क ३५०० भारतीय रुपैयाँ प्रस्ताव गरिएको छ। यी सबै प्रस्तावबारे भारत सरकारले कुनै निर्णय गरिसकेको छैन।

तर, महँगो लाइसेन्स र स्पेक्ट्रम शुल्क तिर्नुपरे पनि स्टारलिंकसहित अन्य स्याटकम कम्पनीले आफ्नो सुरुवाती पुँजीगत खर्च र अन्य खर्चलाई सन्तुलनमा राख्न सस्तो मूल्यमा सेवा लन्च गर्ने तयारी गरिरहेका छन्। स्पेसएक्सको स्वामित्वमा रहेको स्टारलिंकले भारतमा ल्याउने योजना मासिक ८५० भारतीय रुपैयाँभन्दा कम मूल्य भए यो विश्वकै अहिलेसम्मको सबैभन्दा सस्तो प्याकेज हुनेछ।

स्टारलिंक इलन मस्कको निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले सञ्चालन गरिरहेको सेटलाइट इन्टरनेट सेवा हो। सेटलाइट प्रविधिको माध्यमबाट यसले उच्च गतिको र न्यून लेटेन्सी इन्टरनेट प्रदान गरिरहेको छ। सहरीभन्दा पनि दुर्गम भेगमा सेटलाइट इन्टरनेट बढी उपयोगी मानिन्छ। स्टारलिंकले पृथ्वीको सतहबाट ५५० किलोमिटरमाथि लो-अर्थ अर्बिट (एलइओ) सेटलाइटहरुको सबैभन्दा ठूलो सञ्जाल प्रयोग गरिरहेको छ।

अमेरिकामा स्टारलिंकको रेसिडेन्सयल लाइट योजना उपलब्ध छ। जसको मासिक शुल्क ८० डलर (१० हजार ८६५ रुपैयाँ) यो प्याकेजमा अनलिमिटेड तर प्राथमिकतामा नराखिएको (डिप्रायोरिटाइज) डेटा उपलब्ध हुन्छ। सेटलाइट सेवाका लागि अमेरिकामा छुट्टै ‘स्टारलिंक स्ट्यान्डर्ड किट’ किन्नुपर्छ। यसको मूल्य ३४९ डलर (झण्डै साढे ४९ हजार रुपैयाँ) पर्छ। यो एकपटक तिरे पुग्छ।