
काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अर्थशास्त्री डा. प्रकाशकुमार श्रेष्ठ अवकाश भएका छन्। ५८ वर्ष उमेर हदका कारण उनी शनिबारबाट अनिवार्य अवकाश भएका हुन्।
मौद्रिक अर्थशास्त्री प्रकाश २०५४ मंसिर २३ सहायक निर्देशक (सहायक अनुसन्धान अधिकृत) पदबाट राष्ट्र बैंक प्रवेश गरेका थिए।
राष्ट्र बैंकमा रहँदासमेत प्रदेशदेखि संघिय योजना आयोग, अर्थमन्त्रालयको प्रमुख आर्थिक सल्लाहकारसमेत भएर उनले केही बजेटहरुमा योगदान पुर्याएका छन्।
२०६२ सालमा उपनिर्देशक, २०७२ मा निर्देशक र २०७६ मा कार्यकारी निर्देशकमा बढुवा भएका थिए। उनी आर्थिक अनुसन्धान विभागको प्रमुख भएर केही मौद्रिक नीतिहरुको संयोजनसमेत गरेका थिए।
लुम्बिनी प्रदेशको योजना आयोगका उपाध्यक्ष भएका उनी त्यसपछि संघीय अर्थमन्त्रालयको सल्लाहकार भएका थिए। अहिले पनि उनी राष्ट्रिय योजना आयोगको सदस्य छन्।
नेकपा एमालेले सरकार तथा अर्थ मन्त्रालयको नेतृत्व गर्दा उनले कुनै न कुनै भूमिकामा सघाएका छन्। चार वर्षअघि एमाले सरकारमा हुँदा उनलाई राष्ट्र बैंकको डेपुटी गभर्नर बनाउने चर्चा थियो। यसपाली पनि एमाले सरकारमा भएका बेला गभर्नरका लागि उनी रेसमा थिए। अन्तत: उनी राष्ट्र बैंकबाट अवकाश भएका छन्।