काठमाडौंमा बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट, ‘लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति शहर भनेर चिनाउनुपर्छ’

बिजमाण्डू
२०८२ जेठ ९ गते १८:२१ | May 23, 2025
काठमाडौंमा बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट, ‘लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति शहर भनेर चिनाउनुपर्छ’

काठमाडौं । संस्कृत पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट (बीआइएटीएम) मार्फत लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ती शहरको रुपमा प्रवर्धन गर्ने बताएका छन्।

Tata
GBIME

नेपाल पर्यटन बोर्डको आयोजनामा आजबाट राजधानीमा सुरु भएको बीआईटीएम २०२५ को उद्घाटन कार्यक्रममा उनले नेपाललाई विश्वभर बौद्ध, आध्यात्म र शान्ति पर्यटनको विश्व केन्द्र बनाउन आवश्यक रहेको बताएका हुन्।

‘बुद्धको जन्मभूमि लुम्बिनीबाट सुरु भएको शान्तिको सन्देश आज पुनः नेपालबाटै विश्वभर फैलाउने समय आएको छ,’ मन्त्री पाण्डेले भने,’ लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति सहरका रुपमा विकास गर्न समेत गर्न आवश्यक छ। बुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति सहरको रुपमा विकास गर्न सरकार प्रतिबद्ध छ।’

सरकारले लुम्बिनीमा कपिलवस्तु, रामग्राम, देवदह र तिलौराकोटलगायतका प्रमुख सर्किटमा केन्द्रित हुँदै बौद्ध पर्यटनलाई प्राथमिकता दिँदै आएको उनले जानकारी दिए।

यस्तै, पाण्डेले बौद्ध पर्यटन प्रवर्धनका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र सडक संजालको प्रभावकारी पहुँच स्थापित गर्ने काम भइरहेको जानकारी दिए।

‘युनेस्कोका प्रतिनिधिसँगको पछिल्लो संवादलाई उल्लेख गर्दै लुम्बिनीलाई जोखिमयुक्त सूचीमा नराख्न आग्रह गरेका छौं,’उनले भने,’साथै तिलौराकोटलाई युनेस्कोको सम्भावित सूचीमा समावेश गराउन सरकारले पहल गरिरहेको छ।’

कार्यक्रममा कोशी प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री षडानन्द मण्डलले सरकारले पर्यटकीय पूर्वाधार विकासमा उच्च प्राथमिकता दिएको बताए।

यस्तै, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाल एक यात्रा गन्तव्य मात्र नभइ अनुभूतिको केन्द्रविन्दु रहेको बताए। जोशीले नेपाललाई आध्यात्मिक र शान्तीको आधारशीला भएको मुलुकमा यस्तो अन्तर्राष्ट्रिय कार्यक्रम साझा प्रतिबद्धता र सार्थक सहकार्यको प्रमाण भएको बताए।

‘नेपाल यात्रा गन्तव्यमा पुग्ने भौगोलिक पथ मात्रै होइन, यो आत्मा र शान्तिको यात्राको प्रारम्भ हो। यहाँको बौद्ध सम्पदा, ध्यान केन्द्र, सांस्कृतिक विविधता र आत्मिक ऊर्जा विदेशी पाहुनाका लागि सधैं सन्देशवाहक बन्न सक्छन्,’ जोशीले भने,’ बीआईटीएमजस्ता प्लेटफर्महरूलाई अन्तर्राष्ट्रिय साझेदारी, दिगो पर्यटन, र आध्यात्मिक पुन:जागरणको यात्रा आरम्भ गर्ने अवसरका रुपमा चित्रण गरेका छन्।’

कार्यक्रममा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा)का अध्यक्ष कुमारमणि थपलियाले शान्ति र अध्यात्मिक पर्यटनमा बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट उपयेागी बन्ने बताए। काठमाडौं र लुम्बिनीमा आयोजना हुने यो कार्यक्रमले कोसेढुंगा साबित गर्ने बताउँदै उनले भने,’यो पटक विभिन्न मुलुकका ६० अन्तर्राष्ट्रिय विशिष्ठ व्यक्तित्वको सहभागिता रहनेछ। हामीले अन्तर्राष्ट्रिय स्तरमा बुद्धिस्ट सर्किटको प्रवर्धनलाई जोड दिएका छौँ।’

सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले यस किसिमका अन्तर्राष्ट्रिय मार्टले नेपालको पर्यटन प्रवर्धनमा टेवा पुग्ने मत राखे। कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. लार्केल लामाले नेपाल शान्तिको भूमि भएको विषय संसारलाई बुझाउन लागिरहेको बताएका थिए।

कार्यक्रममा बीआईटीएम विशेष स्मारिका विमोचन पनि गरिएको छ। तीन दिनसम्म चल्‍ने यस मार्टमा भारत, चीन, बंगलादेश, श्रीलंका, थाइल्याण्ड, म्यानमार, भुटानलगायतका मुलुकबाट सयभन्दा बढी पर्यटन व्यवसायीहरुको सहभागिता रहने जनाइएको छ।