‘एभरेष्ट समिटियर्स समिट’ आयोजना हुँदै, हिमाल आरोहण अनुभवदेखि जलवायु संकटबारे छलफल

बिजमाण्डू
२०८२ जेठ ९ गते १८:११ | May 23, 2025
‘एभरेष्ट समिटियर्स समिट’ आयोजना हुँदै, हिमाल आरोहण अनुभवदेखि जलवायु संकटबारे छलफल

काठमाडौं । एभरेस्ट एलायन्स नेपालको आयोजनामा हिमाल आरोही लक्षित ‘अन्तर्राष्ट्रिय एभरेस्ट समिटियर्स समिट २०२५’ आयोजना हुने भएको छ।

Tata
GBIME

सम्मेलनमा हिमाल आरोहणका चुनौती, महिलाको सहभागिता, जलवायु संकट, सुरक्षित प्रविधि लगायतका विषयमा छलफल हुनेछ।

जेठ १३ गते आयोजना हुने सम्मेलनमा १६ मुलुकका करिब २०० हिमाल आरोहीको सहभागिता सुनिश्चितता भइसकेको आयोजकले जनाएको छ।

पर्वतारोहण विज्ञ, नीति निर्माता, संरक्षणविद्, पर्यटन सरोकारवाला, हिमाली क्षेत्रका स्थानीय लगायत पर्यटन व्यवसायी, शेर्पा समुदाय र ट्रेकरलाई समेटेर दिगो पर्यटन प्रवर्धन, हिमाली वातावरणीय संरक्षणबारे अन्तर्राष्ट्रिय सहकार्यका बारेमा छलफल गर्ने उद्धेश्यले सम्मेलन आयोजना गर्न लागिएको एलायन्सकी सिइओ अजु सिटौलाले बताइन्।

सम्मेलनमा भारत, चीन, अमेरिका, पाकिस्तान, अष्ट्रिया, बेलायत, इटाली, नर्वे, इरान, सिंगापुर, अस्ट्रेलिया, लेबनान, मोरक्को, युएईलगायतका देशबाट हिमाल आरोही र प्रतिनिधिको सहभागिता रहने उनले जानकारी दिइन्।

‘विश्वभरका सगरमाथा आरोहण सम्पन्न गरेका आरोहीहरुलाई एउटै मञ्चमा भेला गराई प्रेरणादायी यात्राका कथाहरू, सफलताको अनुभूति, संघर्षका क्षणहरु र सिकाइका पाटाहरू प्रस्तुत गरिनेछ,’ उनले भनिन्,’अन्तरक्रियात्मक कार्यक्रममा उपस्थित पाहुनाहरूले पर्वतारोहणको जीवन दर्शन मात्र होइन, मानव क्षमताको चरम सीमासम्म पुग्न सकिने कुरा महसुस गराउने  विश्वास लिएका छौं।’

सम्मेलनले वातावरणीय सन्तुलन र हिमाली क्षेत्रको दिगो भविष्य केन्द्रित छलफल गरिने उनले बताइन्।

सन् १९५३ मा सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पासँगै पहिलो पटक सगरमाथा आरोहण गरेका सदस्य कान्छा शेर्पालाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरि सम्मानित गर्ने तयारी रहेको पनि उनले जानकारी दिइन्।

सम्मेलनमार्फत नेपाललाई सुरक्षित तथा दीगो पर्वतारोहण गन्तव्यका रूपमा स्थापित गर्न, वातावरण संरक्षण प्रवर्धन गर्न र अन्तर्राष्ट्रिय सञ्जाललाई मजबुत बनाउन महत्वपूर्ण रहने एलायन्सका अध्यक्ष सुदर्शन नेपालले बताए।

‘एभरेस्ट समिटियर्स समिट २०२५ केवल कार्यक्रम होइन, सपना, संघर्ष, साहस र सफलताको संगम हो,’ उनले भने,’ जहाँ सगरमाथा आरोहीहरूको अनुभव नयाँ पुस्तालाई प्रेरणा हुनेछ, र नेपाललाई विश्व पर्यटन नक्शामा थप मजबुत रूपमा स्थापित गर्ने ऐतिहासिक अवसर हुने अपेक्षा गरेका छौँ।’