मानव तस्करीमा विमानस्थल अध्यागमन प्रमुखकै साथ! सहसचिव भट्टराईसँग अख्तियारको केरकार

बिजमाण्डू
२०८२ जेठ ७ गते १८:५६ | May 21, 2025
मानव तस्करीमा विमानस्थल अध्यागमन प्रमुखकै साथ! सहसचिव भट्टराईसँग अख्तियारको केरकार

काठमाडौं। मानव तस्करसँगको सेटिङमा युवायुवतीलाई गैरकानुनीरुपमा विभिन्न मुलुकमा पठाउन सहयोग गरेको आशंकामा गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएर केरकार गरेको छ।

Tata
GBIME

त्रिभुवन विमानस्थल अध्यागन प्रमुख रहँदा मानव तस्करीमा सहयोग गरेको आशंकामा सहसचिव भट्टराईलाई अख्तियारले बुधबार नियन्त्रणमा लिएर सोधपुछ गरेको हो।

विमानस्थल अध्यागमन कार्यालय प्रमुखबाट गृह मन्त्रालयमा सरुवा भएको भोलिपल्टै भट्टराईलाई अख्तियारले नियन्त्रणमा लिएको हो।

उनलाई अख्तियारका अनुसन्धान अधिकृतहरुले आफ्नै कार्यालयमा लगेर सोधपुछ गरी बोलाएको बेला उपस्थित हुने सर्तमा छोडेका छन्।

भट्टराईमाथि मानव तस्करसँग पैसा असुलेर युवायुवतीहरुलाई भिजिट भिसामा दुबई लगायत विभिन्न गन्तव्यमा पठाउन सहयोग गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो। उजुरीमाथि छानबिन गर्दा भट्टराईको भूमिका शंकास्पद देखिएकाले नियन्त्रणमा लिएर केरकार गरेको अख्तियार स्रोतले बतायो।

अख्तियारले विमानस्थलस्थित अध्यागमन कार्यालयबाट केही कम्प्युटर र कागजातसमेत नियन्त्रणमा लिएको छ।

भिजिट भिसाका नाममा नक्कली कागजपत्र बनाइ हुने मानव तस्करीमा सरकारी कर्मचारीले साथ दिने गरेको विषय यसअघि पनि सार्वजनिक भएको थियो।

मानव तस्करहरुले कर्मचारीसँग मिलेर दैनिक २०० युवायुवतीलाई भिजिट भिसामा उडाउने गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २०८० असोज गरेको अपरेसनबाट खुलेको थियो।