
काठमाडौं। जर्मनीको राष्ट्रिय ध्वजावाहक कम्पनी लुफ्थान्सा तीन दशक पछि पुनः नेपाल आउन लागेको छ। लुफ्थान्साले नेपालका लागि सोसाइटी इन्टरनेसनललाई अफलाइन टिकेटिङको जिम्मा दिएको छ।
सोसाइटी इन्टरनेसनलका एक कर्मचारीले लुफ्थान्साको अफलाइन टिकेटिङ सुरु गर्न लागेको बताए। अहिले लुफाथान्साकै जहाज भने नेपालमा आउने छैन।
‘हामी अहिले अफलाइन टिकेटिङ गर्नेछौं। यात्रुको माग अनुसार एक वर्षभित्र जर्मनीमा सिधा उडान गर्ने विषयमा अध्ययन गरिरहेका छौं,’ उनले भने, ‘हामीसँग स्टार एयरलाइन्सका रुपमा एयर इण्डिया र थाइ एयरवेज भएका कारण उनीहरुसँगको सहकार्यमा कोड सेयरिङ गरेर सेवा दिनेछौं।’
मंगलबार हुने मिट एण्ड ग्रिट कार्यक्रमका लागि भारतबाट लुफ्थान्साका प्रतिनिधि काठमाडौं आएका छन्।
लुफथान्साले यसअघि सन् १९८७ देखि १९९५ सम्म फ्राङ्कफर्ट-कराँची-काठमाडौं व्यावसायिक उडान गरेको थियो।