नेपालमा हुने अन्तर्राष्ट्रिय उडानमा सिजनकै बेला अकुपेन्सी ५० प्रतिशतमा सीमित, कारण के?

वसन्तराज उप्रेती
२०८२ जेठ ५ गते २१:०६ | May 19, 2025
नेपालमा हुने अन्तर्राष्ट्रिय उडानमा सिजनकै बेला अकुपेन्सी ५० प्रतिशतमा सीमित, कारण के?

काठमाडौं। सिजनकै बेला विभिन्न मुलुकबाट नेपालमा हुने अन्तर्राष्ट्रिय उडानमा अकुपेन्सी निकै घटेको छ। वायुसेवा कम्पनी र तीनका जीएसएका अनुसार अकुपेन्सी अहिले ५० प्रतिशतमा झरेको छ।

Tata
GBIME

उनीहरुका अनुसार अकुपेन्सी ३५ प्रतिशतभन्दा धेरै घटेको छ। एयर इण्डिया, एयर इण्डिगो र स्पाइस जेटले भारतबाट गर्दै आएको उडानमा अधिकतम ५० प्रतिशत अकुपेन्सी मात्र कायम हुँदै आएको जनाएका छन्।

उडानमा अकुपेन्सी घट्नुलाई व्यवसायीहरुले भारत-पाकिस्तान युद्धलाई कारण भनेका छन्। केही दिनअघि भारत र पाकिस्तान एक अर्कामाथि जाइलागेकामा अहिले युद्ध रोकिएको अवस्था छ।

युद्ध रोकिएपनि नेपाल आउन ठिक्क परेका कतिपय पर्यटक अन्यत्र डाइभर्ट भएका छन्।

नाटाका अध्यक्ष कुमारमणि थपलियाले पनि भारत र पाकिस्तानबीचको युद्ध रोकिए पनि नेपालको पर्यटन क्षेत्रले त्यसको असर भोगिरहेको बताए।

‘नेपाल भारतसँग सीमा जोडिएको मुलुक हो। भारत र पाकिस्तान एक अर्काविरुद्ध आक्रमणमा उत्रिंदा पर्यटकहरु नेपाल आउन डराए। त्यहीकारण त उडानमा अकुपेन्सी घटेको हो। नत्र अहिले यात्रुको संख्या घट्नुपर्ने कारण केही थिएन,’ उनले भने, ‘कतिपय पर्यटकहरु नेपाल भ्रमण स्थगित गरेर अरु गन्तव्यमा गइरहेका छन्। सिजनकै बेला हामीलाई क्षति पुगेको छ।’

एयर इण्डियाका एक कर्मचारीले दिल्ली-काठमाडौं उडानमा ५० प्रतिशत मात्रै अकुपेन्सी रहेको बताए। ‘अकुपेन्सी निक्कै घटेको अवस्था छ। भारत-पाकिस्तानबीचको युद्ध रोकिएपनि यात्रु बढेका छैनन् ,’उनले भने, ‘काठमाडौंबाट बाहिरिनेको संख्या भने सन्तोषजनक छ।’

एयर इण्डियाले यात्रु आकर्षित गर्न दिल्ली-काठमाडौं एकतर्फी भाडादर ८,००० रुपैयाँमा झारेको छ। ती कर्मचारीका अनुसार काठमाडौं-दिल्ली एकतर्फी भाडादर भने २२ हजार रुपैयाँ छ। एयर इण्डियाले दिल्ली-काठमाडौं दैनिक ५ वटा नियमित उडान गर्दै आएको छ।

साताको १० वटा उडान गर्दै आएको एयर इण्डिगोको दिल्ली-काठमाडौं उडानमा अकुपेन्सी ५० प्रतिशतमा झरेको छ। सिंगापुर, मलेसिया, थाइल्याण्ड लगायत गन्तव्यबाट नेपालमा उडान गर्दै आएका वायुसेवा कम्पनीले अकुपेन्सी ४० प्रतिशतसम्म घटेको जनाएका छन्।

‘विगतका वर्षमा यो समय यात्रु व्यवस्थापन गर्दै भ्याइ नभ्याइ हुन्थ्यो। अहिले त्यो अवस्था छैन। भारतको सीमा क्षेत्रमै पर्ने भएका कारण कतिपय पर्यटकले नेपाल भ्रमण नै स्थगित गरिरहेका छन्,’ एक व्यवसायीले भने।

नेपालका लागि स्‍पाइस जेटको जीएसए हिमालय ग्लोबल ट्राभल सर्भिसेसकी सीइओ संगिता रौनियारले नेपालमा हुने उडानमा यात्रुको संख्या घटेका कारण आकर्षक प्याकेज बिक्री गर्ने योजना बनाउन लागेको बताइन्।

‘इनकमिङ प्यासेन्जर संख्या निकै कम छ। अहिलेको संख्याले हाम्रो खर्च धान्दैन। त्यसैले हामी दिल्ली-काठमाडौं उडानमा यात्रुलाई आकर्षित गर्न विशेष प्याकेज ल्याउने तयारीमा छौं,’ उनले भनिन्।

नेपालमा एक साताअघि पुनः उडान सुरु गरेको स्पाइस जेटले अहिले काठमाडौं-दिल्ली दुईतर्फी उडानको भाडा २७ हजार रुपैयाँ लिने गरेको छ।

नेपालमा एक सातामा भएको अन्तर्राष्ट्रिय उडान र यात्रु संख्या

मिति कुल उडान अवतरण नेपाल भित्रिएका यात्रुको संख्यानेपालबाट बाहिरिएका यात्रुको संख्या
मे १२१०६५,२९१८,५१०
मे १३९३५,२१५७,६५६
मे १४९८५,०१४७,८३१
मे १५९२६,०५१७,६०४
मे १६९९६,३९४८,१२३
मे १७८९५,६५४७,१५८
मे १८९२५,१५०७,५२१
जम्मा६६९३८,७६९५४,४०३
स्रोत : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय

थाइ एयरवेज, सिचुवान एयर र जजिरा एयरको जीएसए सोसाइटी इन्टरनेसनलले नेपालतर्फको नियमित व्यावसायिक उडानमा यात्रुको संख्या करिब ३५ प्रतिशत घटेको बताएको छ।

कम्पनीका एक कर्मचारीले यो समय अरु मुलुकमा हवाई यातायातमार्फत भ्रमणमा जाने पर्यटकको सहभागिता उल्लेख्य रहेपनि नेपाल आगमन गर्ने हवाई यात्रुको संख्या घट्दै गएको बताए।

‘अहिले पर्यटकहरु घुमघाममा निस्कने सिजन हो। पोहोर यतिखेर हामीकहाँ यात्रुको फ्लो राम्रो थियो। तर, अहिले चित्त बुझाउने अवस्था छैन,’ सोसाइटी इन्टरनेसनलका एक कर्मचारीले भने, ‘नेपाल आउने भनेका पर्यटक यताको टिकट रद्द गरेर अजरवैजान, थाइल्याण्ड लगायत गन्तव्यमा गइरहेका छन्।’