नेपाल पहिलोपटक महिला क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायरमा, यूएईमाथि ५ विकेटको जित

बिजमाण्डू
२०८२ जेठ ५ गते १३:०० | May 19, 2025
नेपाल पहिलोपटक महिला क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायरमा, यूएईमाथि ५ विकेटको जित
विकेट सेलिब्रेट गर्दै नेपाली खेलाडी। तस्बिर : क्यान


काठमाडौं। नेपाली क्रिकेट टोली आईसीसी टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा पुगेको छ।

Tata
GBIME

विश्वकपको एसिया छनोट अन्तर्गत सोमबार सम्पन्न सुपर ३ को खेलमा यूएईलाई ५ विकेटले हराउँदै नेपालले पहिलोपटक विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान पक्का गरेको हो।

थाइल्याण्डको बैंककस्थित टेर्डथाइ स्टेडियममा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर फिल्डिङ रोजेकी थिइन्।

यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनायो। युएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९, थीर्ता सतिशले २१ र हीना होतचन्दनीले २० रन बनाए।

बलिङतर्फ मनिषा उपाध्यायले सर्वाधिक ४ तथा कविता कुँवरले २ र राजमती ऐरीले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले १९.३ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो। नेपालका लागि कप्तान इन्दुले सर्वाधिक अविजित ३० रन बनाइन्। यस्तै रुविना क्षत्रीले २३, सम्झना खड्काले २१ र पूजा महतोले १३ रनको योगदान गरे।

यूएईका मिचेल बोथा, सुरक्षा कोट्टे, वैष्णवी महेश र इसा ओजाले समान १ विकेट लिए।

एसिया छनोटमा ९ टोली प्रतिस्पर्धामा थिए। यी टोलीलाई तीन समूहमा विभाजन गरिएको थियो। समूह ‘ए’ बाट थाइल्याण्ड, ‘बी’ बाट यूएई र ‘सी’ बाट नेपाल समूह विजेता बन्दै सुपर ३ मा पुगेका थिए।

सुपर ३ मा पुग्दा थाइल्याण्ड र यूएईसँग ६ अंक थियो भने नेपालसँग पाँच अंक। सुपर थ्रीको पहिलो खेलमा थाइल्याण्डले यूएईलाई हराउँदै आइतबार नै ग्लोबल क्वालिफायरमा स्थान बनाएको थियो।

नेपालको विश्वकप पुग्ने बाटो। ग्राफिक्स आईसीसी।

सोमबारको खेलमा नेपाल र यूएई दुबै जित्नै पर्ने दबाबका साथ मैदान उत्रिएका थिए। नेपाल युएईलाई हराएर सुपर थ्रीको एक खेल बाँकी छँदै ग्लोबल क्वालिफायरमा पुगेको हो।

ग्लोबल क्वालिफायरमा एसियासहित विभिन्न छनोट खेलेर आएका टोलीबीच प्रतिस्पर्धा हुनेछ। यस चरणबाट चार टोलीले विश्वकपमा स्थान बनाउने छन्। ग्लोबल छनोटमा पुगिसकेका नेपाल र थाइल्याण्ड मंगलबार भिड्नेछन्।