एनसेल बन्यो अपांगता समावेशीकरण प्रवर्द्धन गर्ने पहिलो नेपाली टेलिकम कम्पनी

बिजमाण्डू
२०८२ जेठ ५ गते ११:१० | May 19, 2025
एनसेल बन्यो अपांगता समावेशीकरण प्रवर्द्धन गर्ने पहिलो नेपाली टेलिकम कम्पनी

काठमाडौं। एनसेलले जीएसएमएले जारी गरेको अपांगता भएका व्यक्तिहरूका लागि डिजिटल समावेशीकरण प्रवर्द्धन गर्ने सिद्धान्तमा हस्ताक्षर गरेको छ।

Tata
GBIME

जीएसएमए विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन हो। जीएसएमएका यी सिद्धान्तले डिजिटल समावेशीकरण प्रवर्द्धन गर्न र मोबाइल सेवामा अपांगता भएका व्यक्तिको पहुँचको खाडल हटाउन विश्वभरका मोबाइल सेवा प्रदायकहरूलाई प्रेरणा र मार्गनिर्देशन प्रदान गर्दै आइरहेको छ।

जीएसएमएसँगको यो सहकार्यले सबैमाझ मोबाइल प्रविधि र डिजिटल सेवाहरुको पहुँच र यसका अवसरबाट पाइने लाभ समानरुपमा सुनिश्चित गराउनुपर्छ भन्ने एनसेलको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने कम्पनीले जनाएको छ। यी सिद्धान्तमा हस्ताक्षर गर्ने एनसेल पहिलो नेपाली मोबाइल सेवा प्रदायक कम्पनी हो।

एनसेलले आफ्ना सेवाहरुको पहुँचलाई अझै सहज बनाउँदै लैजाने, समावेशी ग्राहक अनुभव प्रवर्द्धन गर्ने र समुदायसँग सहकार्य गर्दै सकारात्मक प्रभाव सिर्जना गर्ने कम्पनीले जनाएको छ।

‘हामीले केबल सम्पर्क स्थापित गर्ने कनेक्टिभिटी सेवा मात्र उपलब्ध गराइरहेका छैनौं। हामी मानिसहरुलाई सशक्त बनाइरहेका छौं। जीएसएमएसँग अपांगता भएका व्यक्तिहरूको डिजिटल समावेशीकरण प्रवर्द्धन गर्ने यी सिद्धान्तहरूमार्फत हामी नेपालको डिजिटल भविष्यमा कोही पनि पछि नपरोस् भन्ने सुनिश्चित गर्न महत्वपूर्ण कदम अगाडि बढिइरहेका छौं। हातेमालो गर्दै, हामीले डिजिटल दुनियामा सफल हुने समावेशी र सशक्त समाज निर्माण गर्ने लक्ष्य राखेका छौं,’ एनसेल फाउन्डेसन तथा स्पेसल प्रोजेक्ट डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन्।

एनसेलले विश्वभरका दूरसञ्चारका अग्रणी कम्पनीहरु माझ आफूलाई सामेल गराउँदै मोबाइल प्रविधिलाई अझ समावेशी बनाउन एकसाथ काम गर्ने भएको भएको छ।