जहाज खरिदलाई राष्ट्रिय गौरवको योजनाका रुपमा अगाडि बढाउन मन्त्रीसँग अधिकारीको आग्रह

बिजमाण्डू
२०८२ जेठ २ गते १२:५२ | May 16, 2025
जहाज खरिदलाई राष्ट्रिय गौरवको योजनाका रुपमा अगाडि बढाउन मन्त्रीसँग अधिकारीको आग्रह


काठमाडौं। नेपाल वायुसेवा निगम (एनएसी)का अध्यक्ष युवराज अधिकारीले जहाज खरिदका लागि आवश्यक सहयोग गर्न पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसँग आग्रह गरेका छन्।

Tata
GBIME
NLIC

उनले पाण्डेको उपस्थितिमा विभिन्न देशमा रहेका एनएसीका स्टेसन म्यानेजरको समीक्षा बैठक राखेर जहाज खरिदलाई राष्ट्रिय गौरवको योजनाका रुपमा अगाडि बढाउन आग्रह गरे।

‘मुलुकको लाइफलाइनको रुपमा काम गर्ने राष्ट्रिय ध्वजाबाहक निगमलाई थप सबल र सक्षम बनाउँदै जहाज खरिद जस्ता महत्वपूर्ण परियोजना राष्ट्रिय गौरवका योजनासँग जोडेर अगाडि बढाउनुपर्छ,’ उनले भने।

एक वर्ष अगाडिदेखि जहाज लिजमा ल्याउने प्रक्रिया अगाडि बढाउन खोजेका अधिकारी सफल हुन सकेका छैनन्। उनले जहाज किन्नका लागि सरकारले कानुनी रुपमा सहजीकरण गरिदिनुपर्ने बताए।

‘खरिद विनियमावली अन्य देशका राष्ट्रिय ध्वजावाहक वायुसेवा कम्पनीसँग मिल्दोजुल्दो हुनुपर्छ। अन्यथा यही निर्णय प्रक्रिया र खरिद विनियमावलीले अगाडि बढ्न कठिन छ,’ उनले भने।

उनले एनएसीका इन्जिनियर, पाइलट लगायत दक्ष कर्मचारीको पलायन रोक्न एनएसीले नै भत्ता सुविधा बढाउन पाउने प्रबन्ध मिलाउन पनि मन्त्री पाण्डेसँग आग्रह गरेको एनएसीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

बिहीबार सुरु भएको दुई दिने बैठकमा ८ देशका १० कन्ट्री म्यानेजर र म्यानेजर सहभागी छन्।

मन्त्री पाण्डेले एनएसीलाई थप जहाज आवश्यक रहेकाले त्यसका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने तर उनएसीको व्यवस्थापनमा पनि सुधार जरुरी रहेको बताए।

एनएसीसँग हाल आन्तरिक उडानतर्फ दुईवटा ट्विनअटर तथा अन्तर्राष्ट्रियउडानतर्फ दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी जहाज छन्।