
काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले चुक्ता पुँजी वृद्धि गर्न दिएको समय घर्किन लाग्दा अधिकांश ब्रोकर कम्पनीले पुँजी जुटाउन सकेका छैनन्। पुँजी बढाउनुपर्ने कम्पनी ३८ वटा रहेकामा अहिलेसम्म ८ वटाले मात्र जुटाएका छन्।
सेबोनले २०८२ असारसम्मको म्याद दिएर २०७९ मा धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ संशोधनमार्फत ब्रोकर कम्पनीको पुँजी वृद्धि गर्ने निर्णय गरेको थियो।
नियमावली संशोधन गरेर सेबोनले ब्रोकर कम्पनीलाई पुँजीका आधारमा तीन समूहमा विभाजन गरेको छ। न्यूनतम चुक्ता पुँजी २० करोड रुपैयाँ तोकिएको छ। यस्ता ब्रोकरले सीमित कार्य मात्र गर्न पाउँछन्।
६० करोड पुँजी भएका ब्रोकरले मार्जिन ल्याण्डिङको कारोबार समेत गर्न पाउँछन्। त्यसबाहेक १ अर्ब ५० करोड रुपैयाँ पुँजी भएका ब्रोकरले स्टक डिलरको समेत काम गर्न सक्ने व्यवस्था छ।
अहिले दुईवटा स्टक डिलरसहित ब्रोकरको संख्या ९२ छ। सेबोनले २० करोड पुँजी कायम गर्न नसक्ने ब्रोकरका लागि निर्देशिका बनाएर मर्जर तथा प्राप्तिको बाटो खुलाएको छ।
नियमावलीमा मर्जर तथा प्राप्तिमा जान चाहने ब्रोकरले ६ महिनाअघि नै आवेदन दिनुपर्ने व्यवस्था गरिएकामा सेबोनले मर्जर निर्देशिका अन्तिममा आएर जारी गरेपछि ब्रोकरहरु असन्तुष्ट छन्। निर्देशिका गत चैतमा जारी गरिएको थियो।
त्यही कारण ब्रोकर कम्पनीहरु मर्जरमा जानका लागि समय थप गर्नुपर्ने लबिङमा छन्। तर, नियमावलीमा गरिएको व्यवस्था संशोधन जटिल विषय भएकाले म्याद थप्न नसकिने सेबोनका कर्मचारी बताउँछन्।
‘तीन वर्षअघि नै नियमावलीमा तोकेर पुँजी बढाउन निर्देशन दिएपछि ब्रोकरले अहिलेसम्म कार्यान्यन गर्नुपर्थ्यो। अहिले आएर मर्जर निर्देशिका समयमै ल्याइएन भन्नु उचित होइन,’ सेबोनका एक अधिकृतले भने, ‘नियमावली संशोधनका लागि सजिलो छैन। अर्थ मन्त्रालयले फाइल कति समय अड्काउँछ भन्ने टुंगो हुँदैन। त्यसैले म्याद थपिन्छ जस्तो लाग्दैन।’