
काठमाडौं। नेपाली कांग्रेसका नेताहरुले नेपाल राष्ट्र बैंकको गभर्नर पद कुनै हालतमा नछाड्न सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन्।
देउवाले बिहीबार बुढानीलकण्ठस्थित आफ्नै निवासमा राखेको बैठकमा सहभागी अधिकांश नेताहरुले मन्दी उन्मुख मुलुकको आर्थिक अवस्थामा अझै सुधार हुन नसकेको र राजनीतिक नियुक्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी गरिरहेको भन्दै गभर्नर पद नछोड्न दबाब दिएका हुन्।
देउवाले पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बैठकमा बोलाएका थिए।
पदाधिकारी र पूर्वपदाधिकारीहरुले प्रधानमन्त्री ओलीले महत्त्वपूर्ण पदमा एमाले समर्थकहरुलाई छानीछानी नियुक्ति दिएको भन्दै गभर्नर पदमा अडान नछोड्न देउवासँग आग्रह गरे।
‘अर्थ मन्त्रालय एमालेसँगै छ। यसअघिका गभर्नर एमाले निकट नै थिए। ओलीले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा आफू निकटलाई नियुक्ति दिएका छन्। त्यसैले यसपालि गभर्नरमा पदमा अडान छोड्न हुँदैन,’ बैठकमा अधिकांश नेताहरुले देउवालाई भने।
अधिकांश नेताहरुले गभर्नर पद एमालेलाई नछोड्न भनेपछि देउवाले दुई तीन दिन धैर्य गर्न आग्रह गरेको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए। ‘हाम्रो सिफारिस अनुसार नै गभर्नर नियुक्त हुन्छन्। तपाइँहरुले दुई तीन दिन धैर्य गर्नुहोला,’ देउवालाई उद्यृत गर्दै ती पदाधिकारीले भने।
राष्ट्र बैंकमा गभर्नरको पद चैत २४ देखि खाली छ। तर कसलाई नियुक्ति दिने भन्ने विषयमा ओली र देउवाबीच सहमति जुट्न सकेको छैन।