हुनै बाँकी आम्दानी कसरी त्रैमासिक रिपोर्टमा? राष्ट्र बैंकले गरायो बैंकहरुलाई सचेत

बिजमाण्डू
२०८२ बैशाख २ गते १२:३४ | Apr 15, 2025
हुनै बाँकी आम्दानी कसरी त्रैमासिक रिपोर्टमा? राष्ट्र बैंकले गरायो बैंकहरुलाई सचेत


काठमाडौं। हरेक त्रैमासको अन्तिम दिनसम्मको आम्दानीलाई त्रैमासिक ब्यालेन्सिटमा देखाउन पाउने भएपछि बैंकहरुले त्यस्तो नगरेको पाइएको छ। त्रैमासको मसान्त पछिको एक साताको आम्दानीलाई बैंकहरुले त्रैमासिक ब्यालेन्सिटमा देखाएको भेटिएको हो।

Tata
GBIME
NLIC

राष्ट्र बैंक सुपरिवेक्षण विभागको स्थलगत अनुगमन टोलीले मसान्तपछिको आम्दानीलाई बैंकहरुले त्रैमासको ब्यालेन्सिटमा देखाएको भेटाएको छ।

बैंक तथा वित्तीय संस्थाहरुले त्रैमासिक रुपमा वित्तीय विवरण सार्वजनिक गर्नुपर्छ। त्रैमासको अन्तिम दिनसम्मको आम्दानीलाइ त्रैमासिक रिपोर्टमा समावेश गर्न पाउँछन्। तर, आधा दर्जन वाणिज्य बैंकहरुले मसान्तपछिको आम्दानीलाई त्रैमासिक रिपोर्टमा राखेर ब्यालेन्सिट राम्रो देखाउने काम गरेको पाइएको राष्ट्र बैंकको स्थलगत अनुगमन टोलीका एक सदस्यले बताए।

स्थलगत अनुगमन क्रममा एक वाणिज्य बैंकले मसान्तपछिको आम्दानीलाइ त्रैमासिक प्रतिवेदनमा देखाएको भेटाएको उनले बताए। राष्ट्र बैंकले अनसाइड र अफसाइड अनुगमन गर्छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको कागज मगाएर हेर्छ भने त्यो अफसाइड र स्थलगत गएर गर्ने अनुगमन अनसाइड हो।

‘स्थलगत अनुगमनको क्रममा एउटा बैंकले मसान्तपछिको आम्दानीलाई ब्यालेन्सिटमा देखाएको पायौं,’ ती अधिकारीले बिजमाण्डूसँग भने, ‘किन यस्तो गरेको भनेर सोध्दा हामीले मात्रै होइन अरुले पनि गरेका छन् भन्ने जवाफ आयो।’

उक्त बैंकले अन्य आधा दर्जन बैंकहरुले समेत मसान्तपछिको आम्दानीलाई ब्यालेन्ससिटमा समावेश गरेको भनेपछि ती बैंकको सीइओहरुलाई बोलाएर वान टू वान स्पष्टीकरण सोधेको विभागका उच्च अधिकारीले बताए।

‘आधा दर्जन वाणिज्य बैंकहरुका सीइओलाई वान टू वान बोलाएर मसान्तपछिको आम्दानीलाई ब्यालेन्सिटमा देखाएका हौं? भनेर सोधेनौं। किन मसानतपछिको आम्दानीलाइ त्रैमासिक रिपोर्टमा देखायौ भनेर सोध्यौँ,’ ती अधिकारीले बिजमाण्डूसँग भने, ‘सबै जनाले अन्य उपाय नभएका कारण यस्तो गर्नुपरेको भन्ने जवाफ आयो।’

मसान्तसम्मको आम्दानी राख्दा नाफा खुम्चिने र खराब कर्जा पनि बढि देखिएपछि यस्तो गरेको बैंकहरुहरुले बताए।

आर्थिक सुस्तताले असुली सुधार प्रभावित भइ खराब कर्जा बढेर नाफा प्रभावित हुने भएपछि मसान्तपछिको आम्दानीलाई ब्यालेन्सिट देखाउने बाहेक विकल्प नभएको सुनाए।  

नियम उल्लंघन हुँदा जागिर नै जाने र कारवाही गर्ने अल्टिमेटम सीइओहरुलाइ दिएको उनको भनाइ छ।

पछिल्लो समय बैंकहरुले तरलता (लगानी योग्य रकम) थुपिए पनि अपेक्षाजनक रुपमा लगानी बढ्न नसकेपछि असुली प्रभावित भइ खराब कर्जा बढेर नाफा प्रभावित भएको छ। बढेको खराब कर्जाले नोक्सानी बढेर नाफा प्रभावित हुने देखिएपछि बैंकहरुले त्रैमासिक रिपोर्ट राम्रो देखाउन अनेक उपाय अपनाउन थालेका छन्।