नेपाली अटो बजारमा इतिहास रचिएको वर्ष, भित्रिए डेढ दर्जन नयाँ गाडी ब्राण्ड

बिजमाण्डू
२०८२ बैशाख १ गते १८:४८ | Apr 14, 2025
नेपाली अटो बजारमा इतिहास रचिएको वर्ष, भित्रिए डेढ दर्जन नयाँ गाडी ब्राण्ड


काठमाडौं। नेपाली अटो बजारमा एकै वर्ष करिब डेढ दर्जन गाडी ब्राण्ड भित्रिएका छन्। विगतका वर्षमा वार्षिक २/३ वटा ब्राण्ड भित्रिने गरेकामा गत वर्ष डेढ दर्जन नयाँ ब्राण्ड नेपाली बजारमा प्रवेश गरेका हुन्।

Tata
GBIME
NLIC

२०८१ मा लिपमोटर, स्मार्ट, जीएसी आयोन, एक्सपेङ, कायी, जिकर, जेको, डिपल, नामी, लुमिन, जेएमइभी, अवतार, रिडारा, म्याक्सस जस्ता ब्रान्ड नेपाल भित्रिएका हुन्। व्यवसायीहरुका अनुसार एकै वर्ष यति धेरै ब्राण्डका गाडी भित्रएको यो पहिलोपटक हो।

यस्तै दुई पाङ्ग्रेतर्फ एथर, रिभोल्ट, अल्ट्राभोइलेटी, ट्राइम्फ, जोनसेन, गोगोरो लगायत ब्राण्ड २०८१ मै नेपाली बजारमा इन्ट्री गरेका हुन्। साथै कमर्सियलतर्फ पनि केही नयाँ ब्रान्डको प्रवेश भएको छ।

नयाँ ब्राण्डमध्ये केहीले मात्र नेपाली बजारको मन जित्न सकेका छन्। केही ब्रान्ड एक वर्षमै ८०० युनिटभन्दा धेरै गाडी बिक्री गरेर सफल बनेका छन्। केही ब्राण्डले बेचेका गाडीको संख्या निक्कै न्यून छ।

पुराना स्थापित ब्रान्डहरुले पनि नयाँ नयाँ मोडलका गाडी भित्र्याएका छन्।

कुनै समय नेपाली बजारमा टोयोटा, होन्डा, निसान, मित्सुबिसी जस्ता जापानी ब्रान्ड र हुन्डाई, किया जस्ता कोरियाली ब्रान्डले आधिपत्य जमाएकामा अहिले चिनियाँ ब्राण्डका गाडीले बजार लिएका छन्। कम मूल्य र आकर्षक विशेषताका कारण चिनियाँ ब्राण्ड नेपाली अटो बजारमा रुचाइएका हुन्।  

पछिल्लो समयमा वातावरणमैत्री र किफायती विकल्पको खोजीमा रहेका उपभोक्ताहरूका कारण विद्युतीय सवारी साधनको माग बढेको छ। यसले गर्दा धेरै नयाँ विद्युतीय गाडीका ब्रान्डहरू नेपाली बजारमा भित्रिएका छन् वा भित्रिने क्रममा छन्।