पुरानो ऋण तिर्न नयाँ ऋण दिँदै बैंक, मसान्तअघि अल्पकालिन ऋण ह्वात्तै बढ्यो

बिजमाण्डू
२०८१ चैत्र ३१ गते ०९:२७ | Apr 13, 2025
पुरानो ऋण तिर्न नयाँ ऋण दिँदै बैंक, मसान्तअघि अल्पकालिन ऋण ह्वात्तै बढ्यो


काठमाडौं । खराब ऋण बढ्ने र आम्दानी घट्ने भएपछि त्रैमासको अन्तिममा बैंकहरुबाट अत्याधिक अल्पकालिन कर्जा (सर्टटर्म लोन) प्रवाह भएको छ।

Tata
GBIME
NLIC

पर्याप्त तरलता र नयाँ ऋणको माग नभइरहेका बेला खाली-खाली रहेका बैंकका कर्जा विभागहरु एक सातायता व्यस्त देखिन थालेका छन्। ऋण विभागका कर्मचारीहरु अबेरसम्म बसेर काम गरिरहेको देखिन्छ।

राष्ट्र बैंकले उपलब्ध गराउने साप्ताहिक तथ्यांकमै पुरानो ऋण तिर्न नयाँ ऋण दिइएको (एभरग्रिनिङ) प्रष्ट देखिन्छ। 

२० वाणिज्य बैंकले एक सातामा २० अर्ब रुपैयाँ ऋण बढाइसकेका छन्। जबकी मसान्तमा दिइने ऋणले अतिरिक्त १ प्रतिशत प्रोभिजनिङ (असल कर्जामा पनि) गर्नु पर्ने भन्दै अन्य बेला बैंकहरु निरुत्साहित हुन्थे।

ब्याज तिर्नका लागि नै अल्पकालिक ऋण सिर्जना भएको बैंकरहरु बताउँछन्। ‘अरु उपाय छैन। भोलि अलिकति सहज हुने बित्तिकै फिर्ता हुन्छ भन्नेजस्तो क्षेत्रमा अलिअलि दिइएको हो,’ अनौपचारिक वार्तामा एक बैंकरले भने, ‘अहिले मात्र होइन, विगतमा पनि मसान्तको बेलामा यसैगरि ह्वात्तै ऋण बढ्ने गरेको थियो।’

राष्ट्र बैंकले मसान्त अन्तिमतिर ऋण बढेको नजिकबाट नियाले पनि त्यसमा प्रतिकृया भने जनाएको छैन। अलिकति कडाइ गर्ने बित्तिकै खराब ऋण अनुपात बढ्ने डरले राष्ट्र बैंक पनि चुपचाप देखिएको हो।

‘नयाँ परियोजना आएको छैन। मसान्तको मुखमा कसैले दीर्घकालिन प्रकृतिको ऋण लैजाने पनि होइन,’ राष्ट्र बैंक सुपरिवेक्षण विभाग स्रोतले भन्यो, ‘अल्पकालिन कर्जा नै बढेको छ।’

उनले स्थलगत सुपरिवेक्षणका क्रममा यस्ता विषयहरु हेरेर प्रोभिजनिङ गर्दै आएको अनुभव पनि सुनाए।

पुरानो ऋणको ब्याज तिर्न त्यही धितोलाई पुन:मूल्यांकन गरेर बढाइएको छ। उदाहरणका लागि १० करोड मूल्यांकन पहिले गरिएको छ भने अहिले बढाएर १२ करोड पुर्‍याइन्छ। त्यसैका आधारमा अर्को दुई/चार किस्ता तिर्न पुग्ने गरि ऋण दिइन्छ।